काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विदेशमा रहेका नेपाली विज्ञ, अनुसन्धानकर्ता र पेशाकर्मीको ज्ञान, सीप र अनुभवलाई नेपालको आर्थिक विकास र नवप्रवर्तनसँग जोड्नुपर्ने बताएका छन्। उनले विज्ञान र प्रविधिमार्फत राष्ट्रको अर्थतन्त्र सुदृढ बनाउन विश्वभर रहेका नेपालीको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरे।
विज्ञ तथा अनुसन्धानकर्तासँगको छलफलमा मन्त्री पुनले नवगठित मन्त्रालय संस्थागत विकासको प्रारम्भिक चरणमा रहेको जानकारी दिँदै आगामी तीन महिनाभित्र आवश्यक संरचना निर्माण गर्ने र विश्वविद्यालयका अनुसन्धानलाई उत्पादनमुखी बनाउने योजना सुनाए। उनले विश्वविद्यालयमा नवप्रवर्तन केन्द्र, उत्कृष्टता केन्द्र तथा आवासीय अनुसन्धान केन्द्र स्थापना गर्ने तयारीसमेत भइरहेको बताए।
मन्त्री पुनले सूचना प्रविधि (आईटी) र कृत्रिम बौद्धिकता (एआई)लाई राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाइने तथा नास्टसम्बन्धी कानुनलाई समयानुकूल संशोधन गरिने जानकारी दिए।
कार्यक्रममा स्वदेश तथा विदेशका वैज्ञानिक र नीतिविज्ञहरूले दीर्घकालीन विज्ञान तथा प्रविधि रणनीति, अनुसन्धानमा लगानी वृद्धि, उद्योग–विश्वविद्यालय सहकार्य, एआई, नवीकरणीय ऊर्जा, जैविक प्रविधि, कृषि तथा स्वास्थ्य अनुसन्धानलाई प्राथमिकता दिन सुझाव दिएका थिए। उनीहरूले गैरआवासीय नेपाली विज्ञहरूको सहभागितामार्फत नेपालको नवप्रवर्तन प्रणालीलाई सुदृढ बनाउनुपर्नेमा पनि जोड दिएका छन्।