काठमाडौँ । गणेश नेपाली मृत्यु प्रकरणमा अनुसन्धान अघि बढाउँदै प्रहरीले तीन जना नगर प्रहरीलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार गृहमन्त्री सुदन गुरुङको निर्देशनपछि दुई महिला र एक पुरुष नगर प्रहरीलाई नियन्त्रणमा लिएर कालीमाटी प्रहरी वृत्तमा राखी सोधपुछ भइरहेको छ।
घटना भएपछि गृहमन्त्री गुरुङले तत्काल चासो देखाउँदै नेपालीको उद्धार र उपचारका लागि पहल गरेका थिए। उनलाई तत्काल विमानस्थल पुर्याउन सडकमा नेपाल प्रहरी र ट्राफिक प्रहरी परिचालन गरिएको थियो भने सरकारले उपचारका लागि हवाई उद्धार तथा एयर एम्बुलेन्सको व्यवस्था समेत गरेको थियो।
नेपालीलाई भारतको एम्स अस्पताल लैजान आवश्यक तयारी गरिए पनि वीर अस्पतालको बर्न आईसीयूमा भेन्टिलेटरमा रहेका उनको स्वास्थ्य अवस्था गम्भीर र अस्थिर भएकाले चिकित्सकको सुझावअनुसार तत्काल स्थानान्तरण नगरिएको हो। उपचारका क्रममा अवस्था स्थिर भएपछि मात्र विदेश लैजान सकिने चिकित्सकले बताएका थिए।
मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपाली बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आफ्नै शरीरमा आगो लगाउँदा गम्भीर घाइते भएका थिए। उनको शरीरको करिब ५५ प्रतिशत भाग जलेको चिकित्सकले बताएका थिए। वीर अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान उनको निधन भएको हो।
आफन्तका अनुसार आत्मदाह प्रयासअघि नगर प्रहरीले नेपालीको मोटरसाइकलमा ह्वील लक लगाएपछि सुरक्षाकर्मीसँग विवाद भएको थियो। त्यसपछि उनले पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेको बताइएको छ। नेपाली मोटरसाइकलमा राइड सेयरिङ गर्दै आएका थिए।
गणेश नेपालीको मृत्युको विरोधमा माइतीघरमा युवाहरूले प्रदर्शन गर्दै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र न्यायको माग गरिरहेका छन्।