Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

निर्वाचनको पूर्वसन्ध्यामा एक सदस्यको मनको कुरा

निर्वाचनको पूर्वसन्ध्यामा एक सदस्यको मनको कुरा

अत्तरिया उद्योग वाणिज्य सङ्घको निर्वाचन हुन अब केही दिन मात्र बाँकी छ। यो लेख कुनै व्यक्ति वा प्यानलको समर्थन वा विरोधका लागि होइन। म यस सङ्घको एक सदस्य तथा पूर्व कार्यसमिति सदस्य भएको नाताले आफ्नो साझा संस्थाप्रतिको चिन्ता व्यक्त गर्न चाहन्छु।

उद्योग वाणिज्य सङ्घको उद्देश्य पद बाँड्नु होइन, व्यवसायीहरूको हकहितको संरक्षण, बजारको विकास र बलियो संस्था निर्माण गर्नु हो। त्यसैले आज व्यक्तिभन्दा संस्था ठूलो हुनुपर्छ।

विगतमा सङ्घको आम्दानीको मुख्य आधार सदस्यता शुल्क, नवीकरण र व्यापार महोत्सव थियो। अहिले महोत्सव पनि सङ्घको प्रत्यक्ष दायराबाट बाहिर छ। त्यसैले संस्थाको नियमित आम्दानी मुख्यतः सदस्यता र नवीकरणमा सीमित छ, जसका आधारमा वार्षिक आम्दानी करिब ५ लाख रुपैयाँ मात्र हुने अवस्था छ। यस्तो संस्थामा निर्वाचन खर्च पनि त्यति नै पुग्नु स्वाभाविक रूपमा चिन्ताको विषय हो।

हिजोका दिनमा अत्तरिया उद्योग वाणिज्य सङ्घको काम पनि महोत्सव आयोजना गर्नेमा मात्र सीमित भएको अनुभूति धेरैले गरेका छन्। त्यस्तै, अत्तरिया क्षेत्रमा आएका विभिन्न कार्यलय प्रमुखलाई खादा, माला र चाकरी गर्ने काममै सीमित भएको देखिँदै आएको छ। यस्तो परिपाटीले संस्थाको वास्तविक उद्देश्य र व्यवसायीहरूको हितका विषयहरू ओझेलमा परेको महसुस हुन्छ।

कार्यसमिति सदस्यका रूपमा काम गर्दा मैले संस्था घाटाबाट नाफातर्फ उन्मुख भएको अवस्था नजिकबाट देखेको छु। त्यसैले सक्षम नेतृत्व र पारदर्शी व्यवस्थापन भए संस्था आर्थिक रूपमा बलियो बन्न सक्छ भन्ने विश्वास छ। तर विगतमा संस्था जहिल्यै घाटामा देखिने, आर्थिक पारदर्शितामाथि प्रश्न उठ्ने र संस्था बलियो हुन नदिने प्रवृत्तिबारे व्यवसायी समाजमा चर्चा हुँदै आएको विषय पनि लुकाउन मिल्दैन।

अर्कोतर्फ, करिब १,००० सदस्य रहेको भनिने सङ्घमा नवीकरणको अन्तिम दिनसम्म करिब ५०० सदस्य मात्र नवीकरण हुनु र त्यसपछि एकै दिनमा संख्या झण्डै दोब्बर हुनु धेरै सदस्यका मनमा स्वाभाविक प्रश्न उठाउने विषय हो। विगतदेखि नै निर्वाचनका बेला उम्मेदवारहरूले सदस्यता विस्तार गर्ने अभ्यासबारे पनि चर्चा हुँदै आएको छ। यदि यो परिपाटी अझै कायम छ भने, अब यसलाई सुधार्ने समय आएको छ।

नेतृत्वमा आउन चाहने व्यक्तिले कम्तीमा पनि उद्योग वाणिज्य सङ्घको विधान, उद्देश्य, काम, कर्तव्य र जिम्मेवारी राम्रोसँग बुझेको हुनुपर्छ। चुनाव जित्ने क्षमता मात्र होइन, संस्था सञ्चालन गर्ने क्षमता पनि नेतृत्वको आधार हुनुपर्छ।

हिजो पनि यस्तै परिपाटी देख्दा मैले संस्थाको हितका लागि आवाज उठाएको थिएँ, आज पनि मेरो चिन्ता त्यही हो। मेरो उद्देश्य कसैको विरोध होइन, संस्थागत सुधारको पक्षमा उभिनु हो।

निर्वाचन केही दिनको हुन्छ, नेतृत्व केही वर्षको हुन्छ, तर संस्था पुस्तौँसम्म रहन्छ। त्यसैले यसपटक हामीले व्यक्तिलाई होइन, पारदर्शिता, क्षमता, इमानदारी र संस्थाको भविष्यलाई मतदान गरौँ।

हामी सबैले जित्नुपर्ने एउटै पक्ष छ—अत्तरिया उद्योग वाणिज्य सङ्घ।