Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

खेल सकिएपछि रोनाल्डोले क्यामराअघि चिच्याएर भने “म फर्किएँ !”

खेल सकिएपछि रोनाल्डोले क्यामराअघि चिच्याएर भने “म फर्किएँ !”

काठमाडौँ – आलोचना र दबाबका बीच क्रिस्टियानो रोनाल्डोले सानदार पुनरागमन गर्दै जारी विश्वकप फुटबलमा आफ्नो गोलको खाता खोलेका छन् । मंगलबार राति भएको खेलमा उज्वेकिस्तानविरुद्ध दुई गोल गर्दै रोनाल्डोले पोर्चुगललाई ५–० को फराकिलो जित दिलाए । यस जितसँगै पोर्चुगलले पहिलो खेलमा प्रजातान्त्रिक गणतन्त्र कङ्गो (सँग बेहोरेको १–१ को स्तब्धपूर्ण बराबरीको आलोचनालाई समेत मत्थर पारेको छ ।

यसअघि लियोनेल मेसी, एर्लिङ हालान्ड र किलियन एम्बाप्पेले गोल गर्दै विश्वकपमा आफ्नो प्रभाव जमाइसकेको अवस्थामा रोनाल्डोले पनि दुई गोल थप्दै आफ्नो पकड बलियो बनाएका हुन् ।

उज्वेकिस्तानविरुद्धको पहिलो हाफमै दुई गोल गरेसँगै रोनाल्डो इतिहासमै ६ वटा फरक विश्वकप संस्करणमा गोल गर्ने विश्वकै पहिलो खेलाडी बनेका छन् । यसका साथै उनी दिग्गज खेलाडी युसेबियोलाई पछि पार्दै विश्वकपमा पोर्चुगलका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी समेत बनेका छन् । उनको यस ऐतिहासिक उपलब्धिलाई ‘गिनीज वर्ल्ड रेकर्ड्स’ ले समेत प्रमाणित गरिसकेको छ ।

खेल सकिएपछि मैदानबाट बाहिरिने क्रममा रोनाल्डोले क्यामराअघि “म फर्किएँ!” भन्दै चिच्याएका थिए । पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजले रोनाल्डो र मेसीबीचको कडा प्रतिस्पर्धाले नै दुवै खेलाडीलाई लामो समयसम्म उच्च स्तरमा टिकाइराख्न ऊर्जा दिएको बताए । “रोनाल्डो राष्ट्रिय टोलीका आइकन र रोल मोडल हुन् । मैदान र ड्रेसिङ रुम दुवै ठाउँमा उनको व्यवहार लोभलाग्दो हुन्छ,” मार्टिनेजले भने ।

उता सन् २००६ को विश्वकप विजेता इटालीका पूर्व कप्तान एवं हाल उज्वेकिस्तानका प्रशिक्षक फाबियो कानाभारोले पनि रोनाल्डोको खेल जीवनको लामो यात्राको प्रशंसा गरे । उनले भने, “रोनाल्डोविरुद्ध खेल्दा डिफेन्डरले एक सेन्टिमिटर पनि ठाउँ छोड्नु हुँदैन, नत्र उनले गोल गरिहाल्छन् । मैले खेलपछि उनलाई अझै केही वर्ष फुटबलको आनन्द लिन शुभकामना दिएको छु ।”

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले पनि रोनाल्डोलाई यो अद्वितीय कीर्तिमानका लागि बधाई दिँदै प्रतियोगिताका बाँकी खेलका लागि शुभकामना व्यक्त गरेका छन् ।