काठमाडौँ । प्रधानमन्त्री तथा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले रास्वपाको राजनीतिक यात्रा अब सामान्य गतिमा नभई ‘एक्सप्रेस वे’ मा अघि बढिरहेको बताएका छन्। चितवनमा आयोजित पार्टीको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले गन्तव्य हासिल नभएसम्म अभियान नरोकिने स्पष्ट पारे।
सरकारलाई गाडीसँग तुलना गर्दै शाहले सुझाव र आलोचना स्वाभाविक भए पनि रास्वपाको यात्रा सही दिशामा रहेको दाबी गरे। “हाम्रो गाडी लोकल रोडमा होइन, एक्सप्रेस वेमा दौडिरहेको छ, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छ,” उनले भने।
जनमत अस्थिर हुने टिप्पणीप्रति प्रतिक्रिया दिँदै शाहले रास्वपाले कुनै कृत्रिम लहर सिर्जना नगरेको, बरु राजनीतिक धार नै परिवर्तन गरेको जिकिर गरे। “हामीले हावा उडाएका होइनौँ, बाढी ल्याएर खोला फर्काएका हौँ,” भन्दै उनले जनताको समर्थन स्थायी आधारमा अघि बढ्ने विश्वास व्यक्त गरे।
शाहले रास्वपाले परम्परागत राजनीतिक शैलीलाई चुनौती दिँदै नयाँ राजनीतिक अभ्यास सुरु गरेको उल्लेख गर्दै जनविश्वासलाई सुशासन, विकास र परिणाममार्फत थप मजबुत बनाउने प्रतिबद्धता जनाए।