काठमाडौं: ब्राजिलका स्टार फरवार्ड नेयमार चोटका कारण फिफा विश्वकपअन्तर्गत समूह सी को दोस्रो खेलबाट बाहिरिएका छन्।
ब्राजिलियन फुटबल महासंघ विज्ञप्ति जारी गर्दै नेयमारले फिललाडेल्फियामा हुने हाइटीविरुद्धको खेल गुमाउने पुष्टि गरेको हो।
महासंघका अनुसार ३४ वर्षीय नेयमार टोलीसँग फिलाडेल्फिया भ्रमणमा जाने छैनन्। उनी आफ्नो चोट निको हुने अन्तिम प्रक्रियालाई थप प्रभावकारी बनाउन न्यु जर्सीमै रहनेछन्।
महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ। उनले टोली बस्ने होटलको सुविधामै रहेर आफ्नो रिकभरी प्रक्रियालाई निरन्तरता दिनेछन्।
नेयमार गत मे १७ मा सान्तोस क्लबबाट खेल्ने क्रममा दाहिने पिँडुलाको चोटबाट ग्रसित भएका थिए। यसै हप्ता सोमबार उनको चोटको अवस्थाबारे परीक्षण गरिएको थियो।
लामो समयपछि नेयमार मंगलबार पहिलो पटक प्रशिक्षण मैदानमा देखिएका थिए, जहाँ उनले अभ्यास गरेका थिए।
बुधबार भने उनी केही समयका लागि टोलीको प्रशिक्षण सत्रमा सामेल हुँदा सहकर्मी खेलाडीहरूले ताली बजाएर उनको स्वागत गरेका थिए। यद्यपि, चोटका कारण उनले अहिलेसम्म टोलीसँग पूर्ण प्रशिक्षण सत्रमा भाग लिन सकेका छैनन्।
आफ्नो चौथो विश्वकप खेलिरहेका नेयमार ब्राजिलका लागि सर्वाधिक गोलकर्ता हुन्। उनले ७९ अन्तर्राष्ट्रिय गोल गर्दै महान् खेलाडी पेलेको ७७ गोलको कीर्तिमानलाई समेत उछिनिसकेका छन्।
सन् २०१४ मा घरेलु मैदानबाट विश्वकप यात्रा सुरु गरेका नेयमारलाई यस पटक मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले टोलीमा समावेश गर्ने कि नगर्ने भन्नेबारे ब्राजिलमा ठूलै बहस भएको थियो।
पाँच पटकको विश्वकप विजेता ब्राजिलले यस पटकको प्रतियोगितामा सुखद सुरुवात गर्न सकेन।
शनिबार भएको आफ्नो पहिलो खेलमा ब्राजिल मोरक्कोसँग १–१ गोलको बराबरीमा रोकिएको थियो। २४ वर्षदेखिको विश्वकप उपाधि खडेरी तोड्ने दाउमा रहेको ब्राजिललाई नेयमारको अनुपस्थितिले दोस्रो खेलमा थप दबाब थप्ने निश्चित छ।