काठमाडौँ । महोत्तरीको गौशाला नगरपालिका–१२ पडरिया गाउँमा इनार खन्ने क्रममा एक मजदुरको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ निवासी २२ वर्षीय वसन्तकुमार महतोको आइतबार इनारभित्र निस्सासिएर मृत्यु भएको हो।
प्रहरीका अनुसार जमिनको सतहदेखि करिब ३६ फिट तल रहेको काठको ठूटो काट्न इनारभित्र पसेका महतो बेहोस भएका थिए। स्थानीयले तत्काल उद्धार गरी उपचारका लागि ईश्वरपुर नगर अस्पताल, बयलबास पुर्याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।