काठमाडौँ । झापाको मेचीनगरमा निर्माणाधीन एसियाली राजमार्गले फेरि एक जनाको ज्यान लिएको छ। मेचीनगर–६ स्थित पालिया पुलमा बिहीबार राति मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा ३३ वर्षीया लक्ष्मी साहको मृत्यु भएको हो।
काँकडभिट्टाबाट विर्तामोडतर्फ जाँदै गरेकी साह सवार प्र १–०१–०१३ प ५८८८ नम्बरको स्कुटरलाई पिबी ०२ बिआर ७७६५ नम्बरको ट्रकले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। गम्भीर घाइते साहलाई उपचारका लागि धुलाबारीस्थित मेची आम्दा अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रहरीले ट्रक चालक भारत पञ्जावको अमृतसर निवासी ३६ वर्षीय सन्दीप सिंहलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
स्थानीयवासीले निर्माणाधीन राजमार्गको अव्यवस्थित डाइभर्सन, चिप्लो र हिलाम्मे सडक तथा अस्पष्ट सङ्केत चिह्नका कारण दुर्घटना बढ्दै गएको गुनासो गरेका छन्। यसअघि पनि सोही खण्डमा भएको दुर्घटनामा दुई युवकको ज्यान गएको थियो। खराब डाइभर्सनका कारण पत्रकार सावित्रा दाहाल र इभन लुइँटेलसमेत दुर्घटनामा परी लामो उपचारपछि मात्र घर फर्किएको उनीहरूले बताएका छन्।