Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

गायिका एलिना चौहान र विष्णु सापकोटाको वैवाहिक जीवन अन्त्यको संघारमा

गायिका एलिना चौहान र विष्णु सापकोटाको वैवाहिक जीवन अन्त्यको संघारमा

काठमाडौं – चर्चित गायिका एलिना चौहान र उनका श्रीमान् विष्णु सापकोटाबीचको वैवाहिक सम्बन्ध करिब ९ महिनामै अन्त्यको संघारमा पुगेको छ। अस्ट्रेलियामा बस्दै आएका बागलुङ निवासी विष्णुसँग गत वैशाख ५ गते विवाह गरेकी एलिनाले काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छन्।

सूत्रका अनुसार, एलिनाले पति विष्णु सापकोटालाई विपक्षी बनाउँदै वारेस विष्णु खरेलमार्फत् सम्बन्धविच्छेदको निवेदन दिएकी हुन्। लामो प्रेम सम्बन्धपछि विवाह बन्धनमा बाँधिएका यी दुईबीच वैवाहिक जीवन सुखद बन्न सकेन। वैवाहिक सम्बन्धपछि निरन्तर कलह भइरहेपछि उनीहरूले छुट्टिने निर्णय गरेका हुन्।

वैवाहिक जीवनमा बढ्दो समस्या

विवाहपछि केही समय अस्ट्रेलियामा श्रीमानसँग बसेकी एलिना पछि नेपाल फर्किएकी थिइन्। उनी नेपाल फर्किएपछि श्रीमान्-श्रीमतीबीचको सम्बन्ध थप चिसिँदै गएको चर्चा थियो। यसबीच, एलिनाले घरेलु हिंसाको सामना गर्नु परेको समाचार पनि सामाजिक सञ्जालमा भाइरल भएको थियो। यद्यपि, एलिना र विष्णुले यसबारे औपचारिक रूपमा कुनै प्रतिक्रिया दिएका थिएनन्।

स्रोतका अनुसार, यी दुईबीचको सम्बन्ध पछिल्ला महिनाहरूमा अत्यधिक तनावपूर्ण बनेको थियो। चर्चित टेलिभिजन कार्यक्रम ‘रजतपट’का प्रस्तोता वरिष्ठ चलचित्र पत्रकार प्रकाश सुवेदीले पनि एलिना र विष्णुको सम्बन्धविच्छेद एक महिनाभित्रै हुने दाबी गरेका थिए।

एलिनाको करिअर उचाइमा, विष्णु पनि संगीत क्षेत्रमा सक्रिय

जादुमयी स्वरकी धनी एलिना चौहान हाल नेपालको सबैभन्दा डिमान्डेड गायिकामध्ये एक हुन्। ‘धोकेबाज हौ तिमी’ बोलको गीतबाट चर्चाको शिखरमा पुगेकी एलिना अहिले देश-विदेशका स्टेज शोहरूमा निकै व्यस्त छिन्।

उता, विष्णु सापकोटा अस्ट्रेलियामा लोकदोहोरी प्रतिष्ठानको शाखा अध्यक्षका रूपमा क्रियाशील छन्। उनी पनि गीत गाउने गर्छन्। प्रेम सम्बन्धकै दौरानमा उनले नेपाल आएर एलिनासँग युगल गीतसमेत रेकर्ड गराएका थिए।

सम्बन्ध विच्छेदको चर्चा र एलिनाको नयाँ गीत

एलिना र विष्णुको सम्बन्धबारे विभिन्न अड्कलबाजी भइरहेका बेला एलिनाको नयाँ गीत ‘एक्लै पनि जिन्दगी चल्दो रहेछ’ सार्वजनिक भयो। यस गीतलाई पनि एलिनाको व्यक्तिगत जीवनसँग जोडेर हेरिएको छ।

यस विषयमा आधिकारिक रूपमा एलिना वा विष्णुले मुख नखोले पनि सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमसम्म यो विषय चर्चाको शिखरमा पुगेको छ। अब उनीहरूबीचको सम्बन्ध औपचारिक रूपमा अन्त्य हुन्छ कि पुनः मिल्ने सम्भावना रहन्छ भन्ने कुराले चासो बढाएको छ।