काठमाडौं । गायक एवम नायक प्रकाश सपुतले आफनो जन्मथलोबाट फिल्म ‘वसन्त’को छायांकन शुरु गरेका छन । गायक प्रकाश सपुतको लेखन, निर्देशन र अभिनयमा निर्माण हुन लागेको चलचित्र ‘बसन्त’को उनकै गृहजिल्ला बागलुङमा शुभ–मुहूर्त्त गरिएको छ । बागलुङ कालिका मन्दिरमा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले शनिबार चलचित्रको शुभ–मुहूर्त्त गरेका हुन् ।
सपुतले शुक्रबार तीजको अवसर पारेर फेसबुकमार्फत चलचित्रको पोष्टर सार्वजनिक गरेका थिए । सपुतसहित अभिनेत्री स्वस्तिमा खड्का, अन्य कलाकार र प्राविधिक, बागलुङ नगरपालिकाका मेयर वसन्तकुमार श्रेष्ठ लगायतले मुहूर्त पूजामा भाग लिए । सपुतकै जन्मथलो धम्जा गाउँसहित बागलुङका विभिन्न स्थानमा २५ दिनसम्म छायांकन चल्नेछ । धम्जादेखि बागलुङ बजार, पोखरा हुँदै काठमाडौंसम्मको यात्रामा भेटेका, देखेका र भोगेका कथालाई उनेर उनले चलचित्र निर्माण गर्न लागेका हुन् कलाकारसहित प्रोडक्सन, प्राविधिक लगायतको झण्डै ५० जनाको टोली शुक्रबार राति बागलुङ आएको हो । ‘वसन्त’ को चर्चा फस्टलुक पोस्टर सार्वजनिक भएपछि दर्शकहरुमा झन उत्साह बढको छ । प्रकाश सपुतले आफनो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन म जन्मदै समाजमा तहहरु थियो ।
सबैभन्दा माथील्लो तहमा शान्ती शर्माहरु, त्यसपछि प्रेम आर क्षेत्रीहरु अनि बिचमा सत्य बहादुर मगरहरु र सबैभन्दा तल पिधमा बसन्त बिक, सपना बिकहरु र पनि हामी बाच्यौ, उहि दुखसुख, उहि उकाली ओराली, उहि मेलापात, उहि स्कुल घर, उहि जन्ति मलामी, उहि बैश उमेर, उहि गित नाच , उहि युद्द आन्दोलन लगभग सबै उस्तै परिस्थितिमा , उस्तै गरि बाच्यौ । समाज प्रेमील थियो, गुणी थियो । तर एउटा विभेदको पर्खाल ले हामीलाई अलग राखि रहयो । एउटा गहिरो अपमान बोध गराईरहयो । हामी एउटै समाज मा भए पनि एउटै रेखामा हुन पाएनौ । तर यो पर्खालले बसन्त बिकहरुलाई मात्रै होईन शान्ती शर्माहरुलाई पनि अफ्ठ्यारो बनाईरहयो । सपना बिकहरुलाई मात्रै होईन प्रेम आर क्षेत्रीहरुलाई पनि प्रेम गर्न छेकिरहयो । चलचित्र बसन्त ले यिनै अफ्ठेरोहरु भन्ने छ । हाम्रो समाजको यिनै गुण अवगुणलाई सिनेम्याटिक अनुभव सहित देखाउने छ जिवनका न्युनतम सिद्दान्तहरु प्रेम, शान्ती, सपना र सत्यलाई बसन्तले बुन्ने छ । लौ हामी हिडियो है त चैत्र २२ गते तपाईहरु सम्म पुग्नु छ ।
सजिलो छैन किनकि यसपाली भारी अलि ठुलो छ ल राम्रै आईपुग्नु भनेर शुभकामना , शुभआशिष दिनुस न है भेटम्ला, कोसेली फुकाम्ला , गुन तिरम्ला केछर जिन्दकि । उनले लेखेका छन । पोस्टरमा फिल्मका प्रमुख ५ कलाकारको चरित्र चित्रण छ । कलाकारलाई विद्यार्थीको पोसाकमा देखाइएको छ । पोस्टरमा स्वस्तिमा खड्काको पात्रको नाम शान्ति शर्मा, प्रभात पाल ठकुरीको प्रेम आर क्षेत्री, खड्गबहादुर पुन ख.ब.पु.को सत्यबहादुर मगर, प्रकाश सपुतको वसन्त विक र शिवांसी श्रीको सपना विक नाम राखिएको छ । फिल्मको निर्माण कम्पनी गलबन्दी प्रोडक्सन हो । कथा र सङ्गीत समेत सपुतकै रहने फिल्मको कार्यकारी निर्मातामा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नाना थकाली हुन् ।