काठमाडौँ । क्यानडामा जारी चौथो संस्करणको ग्लोबल टी–२० मा नेपाली क्रिकेटरद्वय सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीआबद्ध भ्यानकुभर नाइट्सले पाँचौं हार बेहोरेको छ ।
पाँचौं हार बेहोर्नेक्रममा भ्यानकुभर आज बिहान सम्पन्न खेलमा रोहितकुमार पौडेलसम्मिलित टोरन्टो नेसनल्ससँग १९ रनले पराजित भयो । गत सिजनमा सन्दीप सुर्रे जागुअर्स र दिपेन्द्र मोन्टरियल टाइगर्सबाट खेलेका थिए । यस सिजनको ग्लोबल टी–२० मा भने दिपेन्द्र र सन्दिप एउटै टिममा छन् ।
यो ग्लोबल टी–२० को चौथो सिजन हो । यस अघि २०१८ मा भ्यान्कोभर नाइट्स, २०१९ मा विनिपेग ह्वाक्स र २०२३ मा मोन्टरियल टाइगर्सले उपाधि जितेका थिए ।आज बिहान भएको आफ्नो छैटौँ खेलमा टोरन्टोले दिएको १ सय २८ रनको सामान्य लक्ष्य पछ्याएको भ्यानकुभर १८.५ ओभरमा १ सय ८ रनमै अलआउट भयो । उसका लागि रिची बेरिङ्टनले ५२, रीजा हेन्ड्रिक्सले १७, दीपेन्द्र सिंह ऐरीले १३ र कप्तान उस्मान ख्वाजाले १० रन बनाए ।
टोरन्टोका लागि रोमारियो सेफर्डले ३.५ ओभरमा १७ रन दिएर सर्वाधिक तीन विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको टोरन्टोले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २७ रन बनायो ।
उसका लागि रोस्टन चेसले २७ बलमा तीन चौकासहित सर्वाधिक २३ रन जोडे । यस खेलमा रोहित भने प्लेइङ–११ मा थिएनन् । भ्यानकुभरका लागि बलिङमा मोहम्मद आमिरले तीन, ऋषभ जोशी र हर्ष ठाकरले दुई÷दुई तथा सन्दीप लामिछाने र ड्वेन प्रिटोरियसले एक÷एक विकेट लिए ।
यो जितपछि टोरन्टोको सेमिफाइनल सम्भावना बलियो बनेको छ । उसले ६ खेलबाट ७ अंक जोडेको छ । भ्यानकुभर भने यसअघि नै सेमिफाइनल दौडबाट बाहिरिसकेको थियो । उसले ६ म्याच खेल्दा एउटा पनि जित हात पार्न सकेको छैन । भ्यानकुभरले ६ मध्ये एक खेलमा भने वर्षाका कारण अंक बाँडेको थियो ।