Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बंगलादेशसँग २१ रनले पराजित हुँदै २०२४ को विश्वकपबाट बाहिरियो नेपाल

बंगलादेशसँग २१ रनले पराजित हुँदै २०२४ को विश्वकपबाट बाहिरियो नेपाल

काठमाडौँ । नेपाल आईसीसी टी-२० विश्वकप को आफ्नो अन्तिम खेलमा बंगलादेशसँग २१ रनले पराजित भएको छ । योसँगै नेपाल २०२४ को टी-२० विश्वकपमा जितविहीन हुँदै बाहिरिएको छ ।

बंगलादेश यस जितले ४ खेलमा ६ अंकका साथ समूह डी बाट दोस्रो स्थानमा रहँदै सुपर ८ मा पुगेको छ । १०७ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा ८५ रनमा अल आउट भयो । नेपालका लागि कुशल मल्लले ४० बलमा १ चौका र १ छक्कासहित २७ रन बनाए । दीपेन्द्रसिंह ऐरीले ३१ बलमा २ चौका र १ छक्कासहित २५ रनमा आउट भए । ओपनर आसिफ शेखले १४ बलमा ४ चौकासहित १७, कुशल भुर्तेल ४, अनिल साह शून्य, रोहित पौडेल र सन्दीप जोरा १ १ रनमा आउट भए ।

बंगलादेशका तान्जिम हसनले ४ ओभरमा १ मेडनसहित ७ रन खर्चेर ४ विकेट लिए । मुश्ताफिजुर रहमानले ४ ओभरमा ७ रन खर्चेर ३ विकेट लिएका थिए । सकिब अल हसनले २ र तस्किन अहमदले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेश १९.२ ओभरमा १०६ रनमा अल आउट भएको थियो । नेपालको बलिङ सामु बंगलादेशका कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । बंगलादेशका सकिब अल हसनले २२ बलमा २ चौकासहित सर्वाधिक १७ रन बनाए । रिशाद हसनले ७ बलमा १ चौका र १ छक्कासहित १३ रन जोडे । ओपनर तान्जिद हसन शून्य, लिटन दास १०, नाज्मुल हसन सान्टो ४, तोव्हीद ह्रिदोय ९, महमुदूल्लाह रियाद १३, जाकेर अली १२ र तान्जिम हसन सकिबले ३ रन बनाए ।

नेपालका दीपेन्द्रसिंह ऐरीले ३.२ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा १ मेडनसहित १७ रन खर्चेर २ विकेट लिए । रोहित पौडेलले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ३ ओभरमा १० रन खर्चेर २ विकेट लिए ।

बंगलादेश ४ खेलमा ६ अंकका साथ दोस्रो स्थानमा रहँदै सुपर ८ मा पुगेको छ । नेपाल ४ खेलमा १ अंकका साथ चौथो स्थानमा रहेर बाहिरिएको छ ।