काठमाडौँ । नेपाली क्रिकेटर सन्दीप लामिछानेले अमेरिका र वेस्ट इन्डिजमा जारी टी–२० विश्वकप खेल्ने पक्का भएपछि प्रतिश जिसी ट्राभलिङ रिजर्भमा तानिएका छन् । अहिले अमेरिकामा भएको एक खेल प्रतिशले खेलि सकेका छन् भने बाँकी एक खेल पनि उनले खेल्ने छन् ।
क्यानले प्रतिशलाई रिजर्भमा राख्दै सन्दीपलाई टीममा समावेश गरेको हो । उनी ट्राभलिङ रिजर्भमा भएपनि नेपाली टोलीसँगै वेष्टइन्डिज पनि जानेछन् । यदि टीममा कुनै सदस्य घाइते भएमा र खेल्न नसकेमा प्रतिसले खेल्न पाउने छन् । यस अगाडी पनि क्यानले अमेरिकामा सन्दिप जान पाए एक जना खेलाडिलाई रिजर्भमै राख्ने बताएको थियो । तर, सन्दिपलाई अमेरिकाले भिषा नदिए पछि प्रतिसले खेल्न पाएका थिए ।
प्रतिश जिसी नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलिङ अलराउन्डर हुन् । उनी दायाँहाते ब्याट्सम्यान हुन् भने बलिङ बायाँ हातले गर्छन् । प्रतिशले सिनियर राष्ट्रिय टोलीबाट भने धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छैनन् । प्रतिशले देशका लागि हालसम्म तीनवटा एकदिवसीय अन्तर्राष्ट्रिय र १० वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । प्रतिश जिसीले सन् २०२३ को अक्टोबर २१ तारिखमा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यू’ गरेका थिए । प्रतिश जिसीले हालसम्म पाँचवटा लिस्ट ‘ए’ प्रतियोगिता खेलेका छन् । लिस्ट ‘ए’ प्रतियोगितामा उनले दुई विकेट लिएका छन् । लिस्ट ‘ए’ प्रतियोगिताको तीन पालीमा उनले कुल ४५ रन पनि बनाएका छन् । उनले एउटा क्याच पनि लिएका छन् । यसैगरी प्रतिश जिसीले हालसम्म १२ वटा टी–२० प्रतियोगिता पनि खेलेका छन् । उनले टी–२० प्रतियोगितामा कुल नौ विकेट लिएका छन् ।
प्रतिश जिसीले नवौँ टी–२० विश्वकप यात्रामा निस्कनुअघि घरेलु मैदानमा वेस्ट इन्डिज ‘ए’विरुद्ध टी–२० शृंखला खेलेका थिए । यता सन्दीप सोमबार बिहान वेस्ट इन्डिज पुगेका छन् । विश्वकपमा सहभागी गराउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै उनले क्यान पदाधिकारीहरूको नाम जोडेर फैलाइएका प्रपोगाण्डामा विश्वास नगर्न पनि उनले आग्रह गरेका छन् । उनले विश्वकप क्रिकेटमा सहभागितालाई सम्भव बनाउन क्यान अध्यक्ष चतुर बहादुर चन्द, क्यानका सचिव पारस खड्का, वकिल सरोज घिमिरे, विनोद दास लगायतलाई धन्यवाद दिएका छन् । नेपालले बुधवार दोस्रो खेल श्रीलङ्कासँग अमेरिकाको फ्लोरिडामा हुनेछ । त्यसपछि नेपाल वेस्ट इन्डिजतर्फ लाग्नेछ ।वेस्ट इन्डिजको भिन्सेन्टमा जुन १४ दक्षिण अफ्रिका र जुन १६ मा बङ्गलादेशसँग तालिका छ । दक्षिण अफ्रिका र बङ्गलादेशविरुद्धको खेलमा सन्दीपले खेल्नेछन् । नेपाल पहिलो खेलमा नेदरल्यान्डससंग ६ विकेटले पराजित भएको थियो ।