Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

विराट कोहलीले लगाउने ब्राण्डको जुत्ता उपहार पाउदैछन् यी खेलाडीले...

विराट कोहलीले लगाउने ब्राण्डको जुत्ता उपहार पाउदैछन् यी खेलाडीले...

काठमाडौँ । नेपालले आउँदो जनवरीमा यु-१९ विश्वकप खेल्दै छ। यो प्रतियोगीतालाई लिएर धेरै नेपाली झैँ सुदुरपश्चिमको एउटा परिवार पनि निकै उत्साही छ। यो कञ्चनपुरका क्रिकेटर हेमन्त धामीको परिवार हो। हेमन्तका ठूलोबुवाका छोराले भारतीय क्रिकेटर विराट कोहलीले लगाउने ब्राण्डको जुत्ता दुबईबाट मगाइसकेका छन्। यी जुत्ता उनले हेमन्तका लागि मगाएका हुन्। उनका हेमन्त यु–१९ विश्वकप खेल्न जाँदै छन्। भाइको हौसला बढाउन नवराजले भारतीय ब्याटर विराट कोहलीले लगाउने ब्राण्डको जुत्ता किनिदिन लागेका हुन्। ‘नेपालमा नपाएपछि दुबईमा अर्डर गरेको, त्यहाँ पनि तीन जोर मात्रै स्टक रहेछ, ३२ हजारमा मैले मगाएको छु, विश्वकप र एसिया कपमा उनले त्यही जुत्ता लगाएर खेल्छन्,’ उनले भने।

भाइले युवा विश्वकप र एसिया कपमा उत्कृष्ट प्रर्दशन गरेर जित दिलाउन सकोस् भन्ने नवराज कामना गरिरहेका छन्। ‘उसले विश्वकप र एसिया कप खेल्ने खबरले परिवारमा हामी सबै खुसी बनेका छौं, उसले यो अवसरलाई अझै उत्कृष्ट बनाउन सकोस्, उसको बलिङले देशको नाम चिनाओस्,’ उनले भने। नवराज हेमन्तका ठूलाबाका छोरा हुन्। दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शन गरेको देख्दा नवराज खुसी छन्। भाइको प्रगतिले आफूलाई गर्वको महसुस भएको सुनाउँछन्। नेपाली युवा टोलीका तीव्र गतिका बलर हेमन्तले क्रिकेट खेल्न थालेको पाँच वर्ष भयो। विश्वकप छनोट २०२३ मा नेपालबाट खेल्न क्यानले धामीको नाम पनि लिष्टमा राख्यो। आफ्नो नाम विश्वकप छनोटमा परेको देख्दा धामी खुसीले गदगद भएर तयारीमा लागेका थिए। बन्द प्रशिक्षणमा उनले राम्रै गरेका थिए। ‘क्याम्प राम्रो भयो, गुरूले धेरै सिकाउनुभयो, मेरो बलिङमा सुधार भयो, क्याम्पमा भएका अभ्यासलाई गेममा पनि लागु गरेपछि छनोटमा पर्न सफल भएँ,’ उनले भने। युएईलाई पछि पार्दै नेपाल यू–१९ विश्वकप खेल्नका लागि ८ वर्षपछि छनोटमा हुन सफल भएको छ। हेमन्तको घर कञ्चनपुरको भीमदत्त नगरपालिका– ६ ऐठपुरमा छ। महेन्द्रनगरमा जन्मे, हुर्केका हेमन्त स्कुलमा ब्याट, बल समाइहाल्थे। उनले यू–१९ नेपाली क्रिकेट टिमले २०१६ मा खेलेको विश्वकप हेरेका थिए।

कञ्चनपुरका क्रिकेटहरू दीपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, भीम सार्की, सन्दीप जोरालाई देखेर क्रिकेटमा लाग्ने प्रेरणा मिलेको उनको भनाइ छ। घरबाट क्रिकेट खेल्ने भन्दै उनी पाँच वर्षअघि कञ्चनपुर क्रिकेट एकेडेमीमा भर्ना भए। केही समय त्यहाँ उनले अभ्यास गरे। कोरोना कालमा देशमा लकडाउन थियो। त्यहिबेला कञ्चनपुर घर भएका क्रिकेटहरू घर फर्किएका थिए। क्रिकेटर दाइहरू घर फर्किंदा हेमन्तको लागि भने अवसर प्राप्त भयो। लकडाउनका बेला घरमा आएका दाइहरूबाट उनले सिक्ने मौका पाए। अहिले पनि उनी महेन्द्रनगर क्रिकेट एकेडेमीमा भर्ना भएर अभ्यास गरिरहेका छन्।

कञ्चनपुरमा क्रिकेटको माहौल राम्रो छ। आफूभन्दा सिनियर दाजुहरूलाई हेरेर क्रिकेटमा लागेका हेमन्त छोटो समयमै उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीका रूपमा चिनिँदै छन्। उनले अहिले सिनियर टोलीको प्रगतिले पनि क्रिकेटका समर्थक बढेको बताए। उनको पनि नेपालको सिनियर टोलीबाट खेल्ने सपना छ। सुरूमा टेनिसबलले क्रिकेट खेल्ने उनीसित ब्याट हुन्थेन। सुरूवातमा पैसा अभाव र पैसा भएपनि सामान पाइने अवस्था थिएन। अहिले क्रिकेटका सामानहरू बजारमा उपलब्ध हुन थालेका छन्। परिवारबाट पनि सहयोग पाइन थालेको उनले बताए। हेमन्तले क्रिकेट खेल्नमा घरपरिवारले पनि राम्रो सपोर्ट गरेको बताए। धामीका बाबाआमा पनि नेपाली टोलीबाट छोराले खेलेको हेर्न चाहन्छन्।

स्थानीय खेलहरू भने कञ्चनपुरमा कमै हुन थालेका छन्। महेन्द्रनगरमा नगर कप पनि नभएको धेरै भयो। खेल प्रतियोगिता कम भएकाले नयाँ आउने खेलाडीलाई प्रतिभा देखाउन नसकेको उनले बताए। ‘सिकेका कुरा खेलमा फलो गर्न बेलाबेला प्रतियोगिता हुन जरूरी छ,’ उनले भने। हेमन्त विश्वकप र एसिया कपमा राम्रो प्रर्दशन गर्न सक्दो तयारी गरिरहेको बताउँछन्। उनीसहित टोलीका सम्भावित सबै खोलाडीहरू प्रशिक्षक जगत टमाटाको निगरानीमै छन्। प्रशिक्षकले फिटनेस, बलिङ र ब्याटिङमा सुधार गर्न भनेका छन्। ‘इन्डिया र पाकिस्तानलाई हराउन खेल्ने हाम्रो लक्ष्य हो,’ उनले भने।

उनका अनुसार टिमको अहिले ब्यटिङ, फिल्डिङ र बलिङ राम्रो छ। आफू बलिङमा मूख्य भूमिकामा रहे पनि जिम्मेवारी आए लङ हिटरको रूपमा जान तयार रहने बताए।‘ब्याटिङ म खासै गर्दिनँ, अब गेममा सय प्रतिशत बलिङ र ब्याटिङमा दिनेछु, म करण केसी दाइको फ्यान हुँ, उहाँजस्तै बन्न अझै मेहनत गर्नु छ,’ उनले भने। हेमन्तले जिल्ला र प्रदेश स्तरीय दर्जनौं प्रतियोगिता खेलेका छन्। प्रधानमन्त्री क्रिकेट प्रतियोगताका चार खेल खेलेका छन्। उनले नारायणी कप २०८० को प्रतियोगिता पनि खेलेका थिए। यस्तै राष्ट्रिय स्तरको प्याब्सन कप २०७६ पनि उनले खेलेका थिए। उक्त प्रतियोगिताका तीन म्याचमा उनले ७ विकेटका लिएका थिए। सुदूरपश्चिम यू-१९ बाट वाइवाई २०७८ र २०७९ का दुई वटा प्रतियोगितमा उनले खेलेका थिए। २०७८ मा भएको उक्त प्रतियोगिताका तीन खेलमा हेमन्तले ९ विकेट लिएका थिए। २०७९ मा पनि सुदूरपश्चिमले उपाधि जितेको थियो।

धामीले चौथो एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्डको युवा वर्ष खेलाडीको अवार्ड पाएका थिए। उनले युएईमा सम्पन्न यु १९ विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई विश्वकपमा पुर्‍याउन महत्वपूर्ण योगदान दिएको भन्दै उक्त अर्वाड प्रदान गरिएको थियो। नेपालले २०२४ मा श्रीलंकामा हुने यू–१९ पुरुष विश्वकप खेल्दैछ। त्यसअघि एसिया कप पनि खेल्ने छ। आगामी डिसेम्बरमा यु–१९ एसिया कप २०२३ युएइमा हुने छ। नेपालले सो प्रतियोगितामा ‘समूह ए’ मा रहेर पाकिस्तान, भारत र अफगानिस्तान खेल्ने छ। नेपाल, जापान र युएई यसै वर्ष भएको प्रिमियर कपबाट एसिया कपका लागि छनोट भएका हुन्। एसिया कप आगामी विश्वकपका लागि सिकाइको मौका पनि हुने छ।