Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

विश्वकप क्रिकेटमा अष्ट्रेलिया र भारतको भिडन्त ,कस्ले मार्ला बाजी ?(भिडियो सहित हेनुहोस)

विश्वकप क्रिकेटमा अष्ट्रेलिया र भारतको भिडन्त ,कस्ले मार्ला बाजी ?(भिडियो सहित हेनुहोस)

मंसिर ३ ।

विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र अष्ट्रेलियाबीच भिडन्त हुँदै छ । नेपाली समय अनुसार दिउसो सवा २ बजे सुरु हुने प्रतियोगितामा भारत र अष्ट्रेलिया भिड्ने भएका हुन्। भारतको नरेन्द्र मोदी स्टेडियममा हुने फाइनल खेलका लागि दुबै टोली तयारी अवस्थामा छन्।

प्रतियोगितामा कुनै पनि खेल नहारेको भारत उच्च मनोबलका साथमा मैदान उत्रिनेछ। प्रधानमन्त्री नरेन्द्र मोदी आफैं पस्थित हुने प्रतियोगिताको फाइनल खेलअघि हुने समारोहमा पहिलो विश्व विजेता कप्तानलाई सम्मान गरिनेछ भने बीसीसीआईले हालसम्म क्रिकेट विश्वकप जित्ने सबै कप्तानलाई सम्मान गर्नेछ। कार्यक्रममा करिब ५ सय कलाकारले नृत्य प्रदर्शन गर्नेछन्।

क्रिकेटमा बलियो भए तापनि भारत सन् २०१३ च्याम्पियन्स ट्रफीपछि भने लामै समय अन्तरराष्ट्रिय उपाधिविहीन बनेको छ। करिब १४० करोड भारतीय जनता चरम क्रिकेटप्रेमी छन् जो अधैर्य छन् जसको तनमन क्रिकेटको पिचमा पुगेको छ।

भारतले पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७० रनले पराजित गर्दै १२ वर्षपछि एकदिवसीय विश्वकपको फाइनलमा स्थान बनाएको हो । यस्तै अष्ट्रेलियाले दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई तीन विकेटले पराजित गर्दै भारतसँग फाइनल भेट पक्का गरेको थियो ।

अष्ट्रेलिया अफगानस्थानलाई सनसनीपुर्ण हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो। यस्तै सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै फाइनल प्रवेश गरेको हो। भारतले भने न्युजिल्याण्डलाई पराजित गर्दै फाइनल पुगेको हो।

भारतीय खेलाडीहरु यो विश्वकपमा उच्च लयमा रहेका छन्। चर्तित खेलाडी विराट कोहली उच्च लयमा रहेका छन्। यस्तै बलिङतर्फ मोहम्मद शामी र ब्रुम्राह उच्च लयमा रहेका छन्। अष्ट्रेलिया भने बलिङ भन्दा ब्याटिङमा नर्भर रहेको छ। ग्लेन म्याक्सबेल हाल उच्च लयमा रहेका छन्।

फाइनल पुग्ने क्रममा अपराजित भारतले १० मध्ये १० वटै खेल जितेको थियो । यस्तै लिग चरणमा सुरुवाती दुई खेलमा पराजित अष्ट्रेलियाले त्यसपछि लगातार ७ खेल जितेर सेमिफाइनलमा पुगेको थियो ।

लिगमा तेस्रो भएको अष्ट्रेलियाले दोस्रो भएको दक्षिण अफ्रिकालाई पराजित गर्दै ८ वर्षपछि फाइनल पुगेको हो ।विश्वकप क्रिकेटको सर्वाधिक सफल अष्ट्रेलियाले कीर्तिमानी पाँच पटक उपाधि जितेको छ भने भारतले दुई पटक उपाधि जितेको छ ।यसअघि सन् २००३ मा यी दुई टोली फाइनलमा भिड्दा अष्ट्रेलियाले जित हात पारेको थियो । त्यसबेला अष्ट्रेलिया अपराजित रहँदै फाइनल पुगेको थियो ।

यस पटक त्यसको ठीक विपरीत भारत अपराजित रहँदै फाइनल पुगेको छ । भारतलाई घरेलु मैदानमा त्यस हारको बदला लिने मौका समेत छ ।तर अष्ट्रेलियाको लागि पनि फाइनलमा भारतविरुद्ध लिग चरणमा बेहोरेको हारको बदला लिने अवसर छ । भारतले यस पटक उत्कृष्ट प्रदर्शन गर्दै सबै खेल जितेको थियो । तर अष्ट्रेलियाले खराब सुरुवात गरेपनि त्यसपछिका खेलमा आफ्नो वास्तविक खेल प्रदर्शन गर्दै फाइनलसम्म पुगेको छ । त्यसैले फाइनल खेल प्रतिस्पर्धात्मक हुने अनुमान छ ।

अष्ट्रेलियाले यसअघि १९८७, १९९९, २००३, २००७ र २०१५ मा उपाधि जितेको थियो भने भारतले १९८३ र २०११ मा उपाधि जितेको थियो ।यसअघि ७ पटक फाइनल खेलिसकेको अष्ट्रेलिया १९७५ मा वेष्ट इन्डिज र १९९६ मा श्रीलंकासँग भने फाइनलमा पराजित भएको थियो । भारत भने फाइनलमा २००३ मा अष्ट्रेलियासँगै पराजित भएको थियो ।

भारत र अष्ट्रेलियाबीच अहिलेसम्म कुल १५० वटा एकदिवसीय खेल भएको छ । जसमा अष्ट्रेलियाले ८३ वटा खेल जितेको छ भने भारतले ५७ वटा जितेको छ । बाँकी १० खेलमा नतिजा आएको थिएन । यस्तै भारत र अष्ट्रेलियाबीच विश्वकपमा १३ खेल भएकोमा अष्ट्रेलियाले ८ खेल जित्दा भारतले ५ खेल मात्र जितेको छ ।

स्टेडियम १ लाख ३२ हजार जना क्षमताको रहेको छ। जसमा आज हुने खेलमा १ लाख भन्दा बढी समर्थक भेला हुने अनुमान गरिएको छ। विश्वकप क्रिकेटको फाइनल जित्ने टिमले विश्वकप ट्रफीका साथै मोटो रकम नगद पुरस्कार पाउने छ। यो पल्ट विश्वकप जित्ने टिमलाई ४० लाख अमेरिकी डलर अर्थात् ५३ करोड ३० लाख नेपाली रुपैयाँ बराबर नगद पुरस्कार पाउने छ। उपविजेता टिमले २० लाख डलर अर्थात २६ करोड ६५ लाख नेपाली रुपैयाँ बराबरको पुरस्कार पाउने छ।