Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

यूएईलाई आज उसैको घरेलु मैदानमा चुनौती दिँदै नेपाल

यूएईलाई आज उसैको घरेलु मैदानमा चुनौती दिँदै नेपाल

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीले सन् २०२६ मा आयोजना हुने विश्वकप फुटबलको एसियाली क्षेत्रको दोस्रो चरणको छनोट प्रतियोगितामा बिहीबार संयुक्त अरब इमिरेट्स (यूएई) सामना गर्दैछ । खेल यूएईको घरेलु मैदानमा खेलिने छ । खेल नेपाली समयअनुसार, राति ९ः३० बजे सुरु हुनेछ । सन् २०२७ मा आयोजना हुने एसियन कपका लागि पनि यो दोस्रो चरणको छनोट खेल हो । प्रतियोगितामा सहभागी हुने नेपाली टोली आइतबार नै यूएई पुगेको थियो । राष्ट्रिय टोलीका दुई प्रभावशाली खेलाडी रोहित चन्द र मनिष डाँगी भने सिधै यूएई पुगेका हुन् । पछिल्लो समय रोहित इन्डोनेसिया र मनीष बहराइनमा व्यावसायिक फुटबल खेल्छन् ।

डिफेन्डर योगेश गुरुङ, मिडफिल्डर निशान हमाल र स्ट्राइकर राजेश परियारले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । राष्ट्रिय टोलीका अनुभवी डिफेन्डर अनन्त तामाङ भने यूएई भ्रमणमा सहभागी छैनन् । अभ्यासका क्रममा उनको घुँडामा गम्भीर चोट लागेको थियो । नेपाली टोलीमा गोलरक्षकको भूमिकामा किरणकुमार लिम्बु, दीप कार्की र अभिषेक बराल रहेका छन् । डिफेन्डरमा सनिश श्रेष्ठ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट, छिरिङ लामा र योगेश गुरुङ छन् मिडफिल्डरमा कृतिशरत्न छुन्जु, मनिष डाँगी, लाकेन लिम्बु, उत्सव राई, सेहाङ आङ्देम्बे र निशान हमाल रहेका छन् । स्ट्राइकरमा अन्जन विष्ट, आयुष घलान, गिलेस्पीजंग कार्की, हिसुब थपलिया, संजीव विष्ट र राजेश परियार रहेका छन् । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको प्रशिक्षणमा २६ सदस्यीय टोलीले लामो समय प्रतियोगिताका लागि तयारी गरेको थियो । दोस्रो चरणको छनोटअन्तर्गत समूह ‘एच’ मा रहेको नेपालले आफ्नो पहिलो खेल बलियो प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (यूएई)सँग खेल्न लागेको हो । त्यसपछि नेपालले यूएईसँग घरेलु मैदानमा दोस्रो लेग खेल खेल्नेछ । नेपालको समूहमा यमन र यूएईका अतिरिक्त बहराइन पनि छ ।

नेपालले घरेलु मैदानमा आफ्नो पहिलो खेल भने यमनसँग खेल्नेछ । यमनविरुद्धको पहिलो लेग खेल मंसिर ५ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलिने कार्यक्रम छ । नेपाल र यमनबिचको खेल साँझ ७ बजे सुरु हुनेछ । विश्वकप छनोटको प्रारम्भिक चरणमा लाओसलाई हराएपछि नेपालले दोस्रो चरणको पहिलो खेल युएईसँग खेल्न लागेको हो । नेपाली टोलीका मुख्य प्रशिक्षक एनेस अहिलेसम्म आफ्ना कुनै पनि खेलाडी घाइते नहुनु सुखद पक्ष रहेको बताउँछन् । उनले प्रतियोगिताको तयारी राम्रो रहेकाले नतिजा सकारात्मक आउने दाबी गरेका छन् । प्रि म्याच कन्फरेन्समा बोल्दै नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्तो एनेसले फिफा विश्वकप छनोट खेलका लागि राम्रो तयारी गरेको बताएका छन् । भिन्चेन्सोले यूएई समूहकै बलियो टोली भएपनि आफू नडराएको प्रतिक्रिया दिएका हुन् । टिममा युवा खेलाडीको बाहुल्यता रहेका कारण सकारात्मक नतिजा आउने उनको विश्वास छ । उनले उत्कृष्ट युएईसँगको खेल आफूले चुनौतीको रुपमा लिएको उनको भनाइ थियो ।

नेपाल र यूएई ३९ वर्षपछि आमनेसामने हुन लागेका हुन् । यसअघि १९८४ मा भएको मैत्रीपूर्ण खेलमा यूएईले नेपालमाथि ११-० गोलको फराकिलो जित हात पारेको थियो । यूएईका प्रशिक्षक पाउलो बेन्टोले नेपाललाई कमजोर प्रतिद्वन्द्वीका रुपमा लिने गल्ती नगर्ने उल्लेख गरे । नेपाल लाओसमाथि समग्रमा २-१ गोलको जित हात पार्दै दोस्रो चरण प्रवेश गरेको हो । यो खेलमा फरवार्ड अन्जन बिस्टका लागि राष्ट्रिय पुरुष टिमबाट सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाउने अवसर पनि छ । उनले लाओससंगको खेलमा हरि खड्का र निराजन रायमाझीको नाममा रहेको १३ गोलको कीर्तिमान बराबरी गरेका थिए ।

यूएई सन् १९९० पछि पहिलो पटक विश्वकपमा छनोट हुने लक्ष्यमा छ । नेपाल र यूएईसंगै समूह एचमा बहराइन र यमन छन् । नेपालले समूहको दोस्रो खेल आगामी मंसिर ५ गते घरेलु मैदानमा खेल्नेछ । सन् २०२६ मा अमेरिका, मेक्सिको र क्यानडामा हुने विश्वकपका लागि आजदेखि एसिया क्षेत्र छनोट दोस्रो चरणका खेल सुरु हुन लागेका हुन् ।