Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेपालको हार..

नेपालको हार..

अन्तिम ओभरमा विवेक यादव चम्किए पनि नेपाल आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको एसिया क्वालिफायरमा बिहीबार ओमानसँग पाँच रनले स्तब्ध भएको छ। यो हारसँगै नेपाल समूह ‘ए’ मा उपविजेतामा नै सीमित भयो। नेपालले अब फाइनल यात्राका लागि बलियो टोली संयुक्त अरब इमिरेट्सलाई पाएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा १४६ रनको मध्यम लक्ष्य पाएको नेपाल निर्धारित २० ओभरको अन्तिम बलमा १४० रनमा अलआउट हुन पुग्यो। जितका लागि नेपाललाई अन्तिम ओभरमा २६ रन आवश्यक हुँदा दुई विकेट बाँकी थियो। तर, विवेकले डेथ ओभर बलिङ गर्न आएका बिलाल खानको पहिलो बलमै छक्का प्रहार गर्दै जितको आशा दिलाए। त्यसपछि दबाबमा परेका बिलालले दोस्रो बल वाइड फ्याके। त्यस पछिका दोस्रो र तेस्रो बलमा पनि विवेकले छक्का प्रहार गरे। त्यससँगै तीन बलमा सात रन आवश्यक हुँदा नेपाल जितको सङ्घारमा पुग्यो। यद्यपि, चौथो बलमा छक्का प्रहार गर्ने प्रयासमा विवेक ३९ रनमा क्याच आउट हुन पुगे। यस क्रममा विवेकले २४ बलमा पाँच छक्का प्रहार गरे। विवेको विकेटसँगै फेरि खेल ओमाननजिक पुग्यो। त्यसपछि ब्याटिङ गर्न आएका अविनाश बोहोराले एक रन लिँदै करणलाई स्ट्राइक दिए। अन्तिम बलमा नेपाललाई जितका लागि छक्का आवश्यक थियो।

त्यो बलमा छक्काको प्रयास गरेका करण बाउन्ड्री लाइन क्याच आउट हुन पुगे र ओमानले जित निकाल्यो। करणले ११ बलमा १५ रन बनाए। त्यसअघि मध्यम लक्ष्य पछ्याएको नेपालले निकै खराब ब्याटिङ ग¥यो। ओपनर कुशल भुर्तेलबाहेक अन्य ब्याटर लामो समय क्रिजमा टिक्न सकेनन्। कुशलको २६ रन नै नेपालका लागि दोस्रो ठूलो व्यक्तिगत स्कोर रह्यो। तेस्रो ओभरमा ओपनर आसिफ शेखलाई ५ रनमा गुमाएको नेपाल समालिन नै सकेन। पावरप्लेमा समालिने प्रयास गरे पनि नेपालले तीन विकेट गुमाउन पुग्यो।

मेहरान खानले ओपनर कुशललाई आउट गर्दै नेपाललाई ठूलो झड्का दिए। त्यससँगै ५.५ ओभरमा नेपाल ४३/३ को अवस्थामा पुग्यो। त्यसपछि आएका ब्याटरले समालिएर खेल्न नै सकेनन्। नेपालले लगातार पाँच विकेट गुमाउँदा थप ४२ रन मात्र जोड्न सक्यो। यससँगै नेपाल १५.४ ओभरमा ८५/८ को अवस्थामा पुग्यो। यस क्रममा कप्तान रोहित पौडेल १२ रन, कुशल मल्ल १० रन, गुल्सन झा ३ रन, सन्दीप जोरा १२ रन र सन्दीप लामिछाने २ रनमा नै पवेलियन फर्किए।

तर, तल्लो क्रमका ब्याटर विवेकले ठूला सट खेल्दै जित दिलाउने प्रयास गरे पनि सफल हुन सकेनन्। ओमानको बलिङमा अकिब इलियस, मेहरान खान, बिलाल खान र सकिल अहमदले दुई विकेट लिए। जिसान मकसुदको नाममा एक विकेट रह्यो। त्यस अघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभर नै खेल्दै ९ विकेटको क्षतिमा १४६ रनको लक्ष्य प्रस्तुत गर्‍यो। नेपालका बलरले राम्रो बलिङ गर्दै पाहुना टोलीलाई मध्यम लक्ष्यमा रोक्न सफल भए। तर, शीर्ष क्रमका ब्याटरबाट साथ नपाउँदा खेल सुम्पिन पुग्यो। ओमानका लागि कप्तान जिसान मक्सुदले सर्वाधिक ३२ रन बनाए। जिसानले एक चौका र तीन छक्का प्रहार गरे। ओपनर प्रतीक अथाभालेले २४ रन र आयान खानले १८ रन जोडे। ओमानको इनिङ एक समय कमजोर देखिएको थियो। तर, आठौं नम्बरमा ब्याटिङ गर्न आएका नसिम खुसीले २५ रन र नवौं नम्बरमा आएका सकिल अहमदले २२ रन जोड्दै इनिङ उकासे। त्यसबाहेक अन्य ब्याटर लामो समय क्रिजमा टिक्न सकेनन्।

खराब सुरुआत गरेको ओमानले पहिलो ओभरमा नै ओपनर कश्यप प्रजापतिलाई ८ रनमा नै गुमाउन पुग्यो। करण केसीले उनलाई विकेटकिपर आसिफ शेखबाट क्याच गराउँदै नेपाललाई राम्रो सुरुआत दिलाए। त्यससँगै नेपाली बलर हाबी भए र पावर प्लेमा नै चार विकेट लिँदै ओमानलाई दबाबमा राखे। यस क्रममा ओमानले ३८ रन बटुलेको थियो। तर, त्यसपछि समालिएको ओमानले १४.३ ओभरमा नै एक सय रनको आँकडा भेट्टाए पनि ठूलो योगफल भने बनाउन सकेन। नेपालको बलिङमा करण केसीले तीन विकेट तथा सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई विकेट लिए। गुल्सन झा र अविनाश बोहोराको नाममा समान एक विकेट रह्यो। चार ओभर बलिङ गरेका करण ४३ रन खर्चदै महँगा साबित भए।