Shares
Shares
काठमाडौँ । अलिक पहिलासम्म डिप्रेसनरोग के हो भन्ने कुरा यसरि व्यापक रुपमा कसैलाई थाहा थिएँन । डिप्रेसनका विरामी यति धेरै संख्यामा थिएनन् पनि । तर २०७२ सालमा आएको भूकम्प , त्यसपछिको कोरोना ,लगायत अन्य प्राकृतिक प्रकोप र महामारीहरुका कारण पनि धेरै घटना दुर्घटना घटेको हुदा त्यसपछी डिप्रेसन र एन्जाईटी हुने व्यक्तिहरुको संख्या निकै बढ्दो छ । अझ भनौ अहिलेका युवापुस्ता ,सानै उमेरका टिनएजहरु यस्ता मनोरोगका सिकार भैरहेका छन् । यसकारण आतामहत्या , हत्या ,अपराधिक गतिविधिहरु भयावह रुपमा बढिरहेको छ । युवाहरूमा मानसिक समस्या बढ्दै गएको छ किनभने युवाहरूमा दायित्व बढेको छ तर समस्यालाई समाधन गर्ने उपाय कम हुँदै गएको छ। युवाहरू तनावमा पर्दै गएको कारणले गर्दा मानसिक समस्या बढ्दै गएको छ र त्यो जटिल पनि हुँदै गएको छ। मानसिक समस्या कुन उमेर समूहलाई हुने भन्ने हुँदैन। सबै उमेर समूहलाई यो समस्या हुन्छ।तर युवाहरूको जुन जिम्मेवारी बोक्ने र काम गर्ने उमेर हुन्छ त्यो उमेरमा समस्या परेको छ। मानसिक समस्या विभिन्न किसिमका हुन्छन्।
मानसिक समस्या भएको कसरी थाहा हुन्छ?
मानसिक समस्याको किसिम अनुसारको लक्षण हुन्छन्। कुनै पनि व्यक्तिको पहिलाको व्यवहार, पहिलाको सोचाइ, पहिलाको मनमा परिवर्तन आउँछ भने त्यसलाई मानसिक समस्या भएको भन्न सकिन्छ। व्यक्तिले आफूले मनको कुरा मात्र थाहा पाउँछ तर व्यवहार र सोचाइमा आएको परिवर्तन थाहा पाउँदैन। उसको परिवार र समाजले थाहा पाउँछन्। मानसिक समस्यामा धेरै देखिने भनेको एन्जाइटी र डिप्रेसन हो। त्योबाहेक जटिल खालका मानसिक समस्या देखिन्छ। कुनै व्यक्तिलाई चाहिनेभन्दा धेरै डर लाग्छ भने त्यो एन्जाइटी हो। जसले गर्दा उसको कार्य क्षमतामा असर पर्ने हुन्छ। उसलाई जे गर्दा पनि डर लाग्छ। डिप्रेसन भयो भने मन दुखी हुन्छ अनि शरीरमा तागत कम हुन्छ भने जाँगर पनि कम लाग्छ। त्यस्तै भोक र निन्द्रामा समस्या आउँछ, आफैंलाई हानी गर्ने सोच समेत आउँछ। युवाहरूमा एन्जाइटी र डिप्रेसनका समस्या देखिएका छन्।
सबैले आफ्नो तनावलाई खुलस्त रूपमा भनेका हुँदैनन्। जसले आफ्नो समस्या भनेको छ उसको तनाव व्यवस्थापन गर्न सहज हुन्छ। तनाव व्यवस्थापन गर्नका लागि तनाव हुनुको कारण पत्ता लगाउनु पर्छ। खुसी भनेको मनबाट आउने हो। मनमा नै चाहिने तत्व हुन्छ। ती तत्वलाई सन्तुलन ल्याउन पहिला त औषधी उपचार चाहिन्छ। त्यसपछि मात्रै तनाव व्यवस्थापन र काउन्सिलिङको पाटो सुरू हुन्छ।
मानसिक समस्याको असर समाजमा देखिन थालेको छ। समाज यो समस्याबाट पीडित छ। मानसिक समस्यामा भएको व्यक्तिले आफूले आफूलाई बुझ्न सकेको हुँदैन। परिवार र समाजले पनि उसलाई हेला र घृणा गरेको हुन्छ। राज्यले पनि उसको उपचारमा कुनै किसिमको दायित्व लिएको हुँदैन। त्यसले गर्दा मानसिक समस्या झन् जटिल बन्दै जान्छ। शिक्षा, आर्थिक कारण अनि समाजमा रहेको विभेदको कारणले मानसिक समस्या जटिल बन्दै गएको हो। मानसिक समस्या भएकाहरूलाई हाम्रो समाजले उपचारमा लैजानको सट्टा हेला अनि घृणा गर्छ। तर उसको उचित उपचार र व्यवस्थापन भयो भने पहिलाकै अवस्थामा फर्किन सक्छ। हाम्रो समाज, सरकार र घरपरिवारले मानसिक समस्यालाई जुन किसिमले लिएको छ। यसलाई त परिवर्तन गर्नैपर्छ।
जसको मन दुखेको छ उसलाई उपेक्षा गर्दा झन पीडा थपिन्छ। झनै बिरामी हुन्छ। हाम्रो समाजमा यही देखिएको छ। सबैभन्दा पहिला मानसिक स्वास्थ्य शिक्षाको जरूरी छ। कतिले जानेर कतिले नजानेर बेवास्ता गरेका छन्। शारीरिक स्वास्थ्यका लागि थोरै भए पनि सरकारले बजेट छुट्टाएको छ तर मानसिक समस्या भएकाहरूलाई सरकारले नै बेवास्ता गरेको छ।
शिक्षाको कमी आर्थिक अभाव र विभेदको डरले मानसिक रोगीहरू चिकित्सककहाँ जाँदैनन्। जम्मा २२ प्रतिशत मानसिक स्वास्थ्य उपचारको लागि पहल गरेका हुन्छन्। त्यसमा पनि १५ प्रतिशतले धामी, झाँक्री अनि अन्य चिकित्सककहाँ उपचार खोज्न जान्छन्। अहिलेको तथ्यांक अनुसार सात प्रतिशतले मात्रै मनोचिकित्सकबाट सेवा लिएका छन्। त्यो भनेको एकदमै कम हो। मानसिक समस्या भएका सबैले सधैं औषधी खानुपर्दैन। मानसिक रोगी भएपछि त औषधी खानैपर्छ। के कारणले बिरामी भएको पत्ता लगाएर उपचार हुनुपर्छ। एकातिर कारण पत्ता लगाउने अनि उपचार पनि भयो भने सधैं औषधी खानुपर्दैन। एक पटक एन्जाइटी भएको बिरामीले सधैं औषधी खानुपर्छ भन्ने छैन। त्यस्तै, अन्य मानसिक रोगीको हकमा समेत यो लागु हुन्छ। केही मानसिक समस्यामा भने लामो समयसम्म औषधी खानुपर्ने हुन्छ।
एउटा व्यक्ति, जसले आफू जन्मिएको हुर्किएको र पढेको देशमा नभई अर्को देशमा काम गर्न बाध्य हुन्छ भने उसलाई मानसिक समस्या हुनु स्वाभाविक हुन्छ। आफ्नै रहरले अवसर खोज्दै जानु एउटा कुरा हो तर बाध्यताले जानु अर्कै कुरा हो। यस्तो बेलामा मानसिक समस्याको उपचार गरिएन भने थप समस्या बल्झिन्छ। वैदेशिक रोजगारीमा गएकाहरू त यसै समस्यामा छन्।सँगै परिवारका सदस्यलाई समेत पीडा हुन्छ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209