काठमाडौँ । जुवातास खेलेको आरोपमा प्रहरीले काठमाडौंको मैतीदेवीबाट केही कलाकारलाई पक्राउ गरेको छ । शनिबार राति मैतीदेवीको डान्स फिभर नामक डान्स ट्रेनिङ सेन्टरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीको सिंहदरबार वृत्तले अभिनेता गजित विष्ट, कोरियोग्राफर गम्भीर विष्ट, कलाकार सुलेमान शंकर (इकु), अभिनेता शंकर आचार्य, गायक चक्र बमलगायत ९ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–८ का २९ वर्षीय बमसहित भोजपुर पात्लेपानी–२ का ४५ वर्षीय गणेश विष्ट, ३८ वर्षीय नरेन्द्र विष्ट, ललितपुरका ३८ वर्षीय सुर्पमान, रुकुम पश्चिम बाँफिकोट गाउँपालिका–२ का २६ वर्षीय रोशन सिंह रहेका छन् ।
यसैगरी काभ्रे पाँचखाल नगरपालिका–६ का ६० वर्षीय शंकरप्रसाद आचार्य, रामेछापको राकाथुम–१ घर भएका २८ वर्षीय टाइम मगर, काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–९ घर भएका ३६ वर्षीय सुरेन्द्र साउद र स्याङ्जाको चापाकोट–७ का ३३ वर्षीय घनश्याम अधिकारी रहेका छन् ।
उनीहरूको साथबाट प्रहरीले एकलाख ९० हजार ९२० रुपैयाँ बरामद गरेको छ ।उक्त डान्स तालिम केन्द्रलाई अभिनेता गजित विष्टले संचालन गर्छन् । उनीहरुलाई जुवा ऐन अन्तर्गत हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले जानकारी दिएको छ । उनीहरुलाई सिंहदरबार वृत्तको हिरासतमा राखिएको छ । पक्राउ परेका सुलेमान शंकरलाई धेरैले उनलाई वास्तविक नामले भन्दा पनि ‘इकु’ भनेर चिन्ने गर्दछन् । यो परिचय उनले हास्य शृङ्खला ‘मेरी बास्सै’बाट पाएका हुन् । जब ‘इकु’को भूमिका निर्वाह गरे, त्यसपछि उनले कलाकारितामा पछाडि फर्किएर हेर्नु परेको छैन ‘इकु’ एक जंगली पात्रको कल्पना गरेर तयार गरिएको चरित्र हो । जसमा उनको पातलो शरीर र सामान्यभन्दा केही होचो उचाइ र छुस्स दारीले साथ दिएको छ । शृङ्खलामा मात्र होइन, उनले केही फिल्ममा पनि यो भूमिका निर्वाह गरेका छन् । जसबाट उनी दर्शकको मन जित्न सफल छन् ।
धेरैले नोटिस नगरेको पनि हुनसक्छ, पर्दामा ‘इकु’को चरित्रबाट हिट सुलेमान कलाक्षेत्रमा निर्माण, निर्देशनसहित अन्य केही पाटोमा समेत क्रियाशील छन् । यस्तै अर्का पक्राउ परेका व्यक्ति चक्र बम नेपालको सुदुरपस्चिम क्षेत्रका निकै चर्चित र लोकप्रिय गायक हुन् । उनी आफ्ना गीतमा सुदूरपश्चिमेली भाषा र देउडाको मेलोडी मिसाउँछन् । पछिल्लो समयका ओई काजल / भन साली तेरी दीदि का छ लगायतका उनका गीतहरु निकै चर्चित छन् । यस्तै एकसाथ पक्राउ गजित विस्ट र गम्भीर विस्ट पनि परिचित नाम हो । नेपाली सिनेमा क्षेत्रमा गजित विष्ट परिचित नाम हो। ‘मायाज बार’बाट डेब्यु गरेका गजित विष्टनायकका रूपमा चिनिन्छन् भने उनकै भाइ गम्भीर विष्ट अहिलेका चर्चित कोरियोग्राफर हुन्। गम्भीरले आफ्नो दाजुलाई थुप्रै फिल्मका गीतमा नचाइसकेका छन् ।
केहि समय अघि मात्र पनि अनलाइन सट्टेबाजीको प्रचारप्रसार गरेको आरोपमा चर्चित कलाकारहरु पक्राउ परेका थिए । उनीहरुमाथि अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोप थियो । यसरी पक्राउ परेका कलाकारहरुसहितका व्यक्तिहरुमा मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’, राजु पौडेल ‘राजु मास्टर’, पवन खतिवडा ‘म्याकुरी’, एलिस राई, ज्वलन घर्ती मगर, गणेश देवकोटा, सरोज घिमिरे र वेगमन नेपाली रहेका थिए ।