Shares
Shares
काठमाडौँ । नेपालमा गएको २४ घण्टामा १७४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) को तथ्याङ्कअनुसार थप १७४ जनामा सङ्क्रमण पुष्टि भएको हो । यससँगै हाल देशभर ३५ हजार २२३ जनामा डेंगु सङ्क्रमित पुगेका छन् । आठ महिनाको अवधिमा ती सङ्क्रमितमध्ये २० जनाको मृत्यु भएको छ । यस्तै सङ्क्रमण ७६ जिल्लामा देखिएको महाशाखाले जनाएको छ । सङ्क्रमण देखिएका जिल्लामध्ये सबै धेरै सङ्क्रमित सुनसरी जिल्लामा छन् । सुनसरीमा १६ हजार ८० जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै झापामा ३ हजार ५६२ सङ्क्रमित भएका छन् भने धादिङ जिल्लामा ३ हजार १२३ सङ्क्रमित छन् ।
तनहुँमा ३ हजार १२१ जना सङ्क्रमित भएका छन् भने मोरङमा २ हजार २७३ सङ्क्रमित भएका छन् । यस्तै, कास्की ७७२ जनामा पुष्टि हुँदा काठमाडौँमा ७६४ जना सङ्क्रमित भएको ईडीसीडीले जनाएको छ । उता सङ्खुवासभामा ५२६ जना सङ्क्रमण पुष्टि हुँदा कैलालीमा ४८० जनामा सङ्क्रमण भएको छ । धनकुटामा संक्रमितको संख्या ४४५ जना पुगेको छ । सात प्रदेशमध्ये सबैभन्दा धेरै सङ्क्रमित कोशी प्रदेशमा रहेको आँकडाले देखाएको छ । महाशाखाका अनुसार कोशी प्रदेशमा मात्रै २३ हजार ६७४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।
त्यसपछि बाग्मती प्रदेशमा ४ हजार ७८० जना सङ्क्रमित छन् भने गण्डकी प्रदेशमा ४ हजार ८१३ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशमा १ हजार ४३, मधेस प्रदेशमा ५७९, लुम्बिनी प्रदेशमा ६३२ र कर्णाली प्रदेशमा १२१ जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाको तथ्याङ्कमा उल्लेख गरिएको छ । डेंगुलाई हामि सामान्य रोग मान्थ्यौ । के नै होला र ठिक भैहाल्ला नि भन्ने हाम्रो आम जनमानस थियो । तर पछिल्लो एक बर्षयता डेंगुको प्रकोप निकै बढेको छ / र डेंगु रोग लागेकै कारण धेरै मानिसले ज्यान गुमाईसकेका छन् यसकारण अहिले अरु रोगहरु झैँ डेंगु रोगदेखि मान्छे सचेत साथसाथै त्रशित पनि भैरहेका छन् ।
यसकारण डेंगु के हो ? कसरी बच्ने ?
डेंगु सुरुवा रोग हैन । तर, यो लामखुट्टेको टोकाइबाट सर्ने र फैलने गर्छ । डेंगु सार्ने लामखुट्टेले प्रायः दिउँसो मात्र टोक्छ । अस्पतालमा भर्ना भएका सबै बिरामीलाई एकै ठाउँमा राख्दा लामखुट्टेमार्फत् डेंगु सर्ने खतरा हुन्छ । त्यसैले, बेडमा भर्ना भएका बिरामीहरुलाई झुलभित्र राखेर उपचार गर्ने गरिन्छ । खासगरी एडिज प्रजातिको लामखुट्टे डेंगुका लागि जोखिमपूर्ण हुन्छ । गर्मी एवं वर्षाको समयमा यस्तो लामखुट्टे फैलने भय बढी हुन्छ । त्यसैले डेंगुबाट बच्नु भनेको यस्ता लामखुट्टेको टोकाइबाट बच्नु नै हो । किनभने यसको टोकाइ एवं संक्रमण निकै घातक हुन सक्छ । एडिज लामखुट्टे जमेको पानीमा जन्मने र हुर्कने गर्छ । जस्तो कि, कुवाको पानी, खाल्डाखुल्डीमा जम्मा भएको पानी, नालाको पानी आदि । त्यसैले घर आसपासमा पानी जम्ने ठाउँ हुनुहुँदैन ।
डेंगु लागेको कसरी थाहा पाउने ?
डेंगुको लक्षण तुरुन्तै देखिदैन, तीन देखि १४ दिनको अन्तरमा देखिन्छ । यसको संक्रमण भएमा एकदमै चिसो अनुभव हुने र ज्वरो आउने गर्छ । तर, आम ज्वरोभन्दा डेंगुको ज्वरो निकै तिब्र हुन्छ । डेंगुको संक्रमण भएको बिरामीलाई कमजोरी अनुभव हुन्छ । साथै लाग्छ । कतिपय बिरामीहरु चक्कर लागेर बेहोससमेत हुन्छन् । खानामा जिब्रोको स्वाद बदलिन्छ । भोक कम लाग्छ । पखाला लाग्छ । टाउको तथा कम्मर दुख्छ । र, गम्भीर अवस्थामा आँखा, नाक आदिबाट रगत बग्न थाल्छ ।
कसरी बच्ने ?
डेंगुबाट बच्नका लागि घर आसपास एवं टोल छेउछाउ पानी जम्न दिनु हुँदैन । नीमको पात बालेर त्यसको धुँवा घरमा फैलाउँदा लामखुट्टे भाग्न सक्छन् । पानी राखिएको भाँडा बर्तन खुला छाड्नु हुँदैन । भान्सा र वाथरुमलाई सुख्खा राख्नुपर्छ । झ्याल ढोकामा जाली लगाउनुपर्छ । शरीर पूरा ढाक्ने गरी लुगा लगाउनुपर्छ । सुतेको समयमा झुल प्रयोग गर्नुपर्छ । घर आसपास लामखुट्टे मार्ने औषधी छर्नुपर्छ ।
उपचार के छ ?
अहिलेसम्म डेंगुको औषधी बनेको छैन । शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनु नै यसको एकमात्र उपचार हो । त्यसैले माथिका लक्षणहरु देखिनसाथ अस्पताल जानुपर्छ र चिकित्सकको सम्पर्कमा रहनुपर्छ । डेंगु लागेपछि रगतमा प्लेटलेट्सको संख्या तिब्र रुपमा घट्न थाल्छ । यस्तो अवस्थामा औषधीका साथसाथै खानपान र सही दिनचर्या आवश्यक हुन्छ । सादा भोजन लिनुपर्छ । धेरै नुन भएको खाने कुरा खानुहुँदैन । मसलेदार चटपटे खानेकुरा बन्द गर्नुपर्छ । अनार वा गहुँको जमराको रस पिउनुपर्छ । ताजा मौसमी फलफूल खानुपर्छ । नरिवल पानी वा सफा पानी धेरै मात्रामा पिउनुपर्छ । भिटामिन सी युक्त फल खानुपर्छ । कागती, सुन्तला, अंगुर, जामुन पर्याप्त मात्रामा खानुपर्छ ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209