Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पछिल्लो २४ घण्टामा ४३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ४३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौ‌– नेपालमा पछिल्लो २४ घण्टामा ४३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ७१५ जनाको पीसीआर परीक्षणमा ३७० र ३ हजार ५५२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६५ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमित मृत्युको संख्या शून्य छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २३९ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै, फ्रान्समा कोभिड-१९ को नयाँ भेरियन्ट फेला परेको छ । फ्रान्सका वैज्ञानिकले केही समयअघि मार्सेलेस क्षेत्रमा कोभिड-१९ को नयाँ भेरियन्ट फेला पारेका हुन् ।

मेडिटेरानी इन्फेक्सन युनिभर्सिटी हस्पिटल इन्स्टिच्युट (आईएचयू) का अनुसन्धानकर्ताले पहिचान गरेको हुँदा नयाँ भेरियन्टको नाम समेत आईएचयू वा ‘बी.१६४०.२’ राखिएको छ ।

हालसम्म १२ जनामा आईएचयू भेरियन्टको संक्रमण पुष्टि भएको र संक्रमितमध्ये कतिपयलाई अस्पताल भर्ना गरिएको एनजेडहेराल्ड डटकममा उल्लेख छ ।

समाचार अनुसार अफ्रिकी मुलुक क्यामरुनबाट भएको यात्रासँग आईएचयू भेरियन्ट जोडिएको विश्वास गरिएको छ । ४६ पटक म्युटेसन भइसकेको हुँदा यो भेरियन्टले कोभिड-१९ का विद्यमान खोप छल्न सक्ने मि नसक्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।

आईएचयू भेरियन्ट ओमिक्रोन झैं तीव्र गतिले नफैलिएको पनि समाचारमा उल्लेख छ । हालसम्म फ्रान्समा बाहेक यो भेरियन्ट अन्यत्र फैलिएको छैन । तर बेलायतमा यो भेरियन्ट प्रवेश गरिसकेको भन्दै केही अपुष्ट दाबी समेत भइरहेका छन् ।

गत महिना अनलाइनमा पोष्ट गरिएको शोधपत्रमा आईएचयूबारे विस्तृत विवरण राखिएको छ । शोधपत्र अनुसार नोभेम्बरमा क्यामरुनबाट फर्केका एक पुरुषमा पहिलो पटक आईएचयू भेरियन्ट देखा परेको थियो । तर उक्त शोधपत्र हालसम्म कुनै मेडिकल जर्नलमा प्रकाशित गरिएको छैन ।

आईएचयू ओमिक्रोनभन्दा के-कति संक्रामक छ र खोपलाई छल्न सक्छ वा सक्दैन भनेर हालसम्म प्रस्ट भइसकेको छैन । विश्व स्वास्थ्य संगठनले समेत आईएचयू भेरियन्टलाई आफ्नो अनुसन्धानको दायरामा राखेको छैन ।