काठमाडौं, कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्र गतिमा फैलिन थालेपछि नेदरल्याण्ड्समा कडा लकडाउन लागु लागु गरिने भएको छ ।
नेदरल्याण्ड्सले नजिकिँदै गरेको क्रिसमसमा संक्रमण थप बढ्न सक्ने भन्दै लकडाउन कडा बनाउने निर्णय गरेको हो ।
घरमा मात्रै दुईजनासम्म पाहुन आउन पाउने छन् । चाडपर्वको बिदाको समयमा चारजनासम्म पाहुना आउन पाउने जनाइएको छ ।
प्रधानमन्त्री मार्क रुटेले गैर-आवश्यक पसलहरू, बारहरू, जिम हेयर ड्रेसरहरू र अन्य सार्वजनिक स्थानहरू कम्तिमा जनवरी १४ सम्म बन्द हुने घोषणा गरेका हुन् । प्रधानमन्त्री रुटेले प्रतिबन्ध आइतबार देखि लागु हुने जानकारी दिदै लकडाउन गर्न अनिवार्य रहेको बताएका छन् ।
नयाँ नियम अन्तर्गत, मानिसहरूलाई सकेसम्म घरमा बस्न आग्रह गरिएको छ । त्यस्तै भेट्न सक्ने मानिसहरूको संख्यामा कडा सीमाहरू राखिने, मानिसहरू घरमा भेट्न जान १३ वर्ष र माथिका दुई अतिथिहरूलाई अनुमति दिइने, २४-२६ डिसेम्बरमा र नयाँ वर्षको पूर्वसन्ध्या र नयाँ वर्षको दिनमा चार जनालाई अनुमति दिइने बताइएको छ ।
अन्त्येष्टि, किराना सामान बेच्ने साप्ताहिक बजार र दर्शक बिना व्यावसायिक खेलकुद खेलहरू बाहेक अन्य कार्यक्रमहरूलाई अनुमति दिइएको छैन ।
सबै विद्यालयहरू कम्तिमा ९ जनवरीसम्म बन्द रहनेछन्, जबकि अन्य लकडाउन कम्तीमा १४ जनवरीसम्म कायम रहने छ ।
रेस्टुरेन्टहरूले टेकवे खानाहरू बेच्न जारी राख्न सक्ने बताइएको छ ।
हालसम्मकै धेरै उत्परिवर्तन (म्युटेशन) भएको ओमिक्रोनको संक्रमण फैलिँदै गएका कारण युरोपका अधिकांश देशले प्रतिबन्धात्मक नियम लागु गरेका छन् ।
नोभेम्बरको अन्तिम तिर दक्षिण अफ्रिकामा पहिलोपटक पहिचान भएको ओमिक्रोन भेरियन्टको संक्रमण हाल विश्वका ८५ भन्दा बढी देशमा फैलिएको छ ।
हालको खोपकै बूस्टर मात्राले ओमिक्रोनविरुद्ध कम्तीमा गम्भीर बिरामी पर्नबाट जोगाउने गरी काम गर्ने प्रारम्भीक अध्ययनहरुले देखाएका छन् । तर प्रभाकारिताबारे विश्वसनीय आधारका लागि थप अध्ययनको खाँचो रहेको वैज्ञानिकहरुले बताएका छन् ।