काठमाडौँ, ओमिक्रोन भेरियन्टका संक्रमित बढ्दै गएपछि भारतको व्यापारिक केन्द्र मुम्बईमा दुई साता निषेधाज्ञाको घोषणा गरिएको छ । मुम्बई प्रहरीका अनुसार क्रिसमस र नयाँ वर्ष नजिकै आएकोले भिडभाडको जोखिम हुने भन्दै १६ देखि ३१ डिसेम्बरसम्म निषेधाज्ञा जारी गरेको हो ।
मुम्बईमा बुधबार एकैदिन सात जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएपछि २ हप्ताका लागि निषेधाज्ञा जारी गरिएको हो । बिहीबारदेखि डिसेम्बर ३१ सम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको मुम्बई प्रहरीले जनाएको हो ।
कोरोना भाइरसलाई फैलिनबाट रोक्न भन्दै फौजदारी कानुन ‘क्रिमिनल प्रोसिजर कोड’को खण्ड १४४ बमोजिम डिसेम्बर १६ देखि ३१ गतेसम्म निषेधाज्ञा जारी गरिएको भारतीय समाचार माध्यमले जनाएका छन् । बिहीबारदेखि लागू हुने निषेधाज्ञाभर ठूला जमघट गर्न नपाइने, सार्वजनिक भेटघाटमा पाँचजनाभन्दा बढी सहभागी हुन नपाउने र समारोह वा कार्यक्रम गर्दा ५० प्रतिशत क्षमताअनुसार सहभागी गराउनुपर्ने र आयोजकले पूर्ण कोरोना खोप लगाएको हुनुपर्नेछ ।
भारतमा केही दिनयता कोरोना संक्रमण पुनः उकालो लागेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार सात हजार नौ सय ७४ नयाँ संक्रमित थपिएका छन् । बुधबार ६ हजार नौ सय ८४ जनामा संक्रमण देखिएको थियो भने मंगलबार पाँच हजार सात सय ८४ जनामा संक्रमण देखिएको थियो ।
साथै, महाराष्ट्रमा आउने मानिसले समेत पूर्ण खोप लगाएको हुनुपर्ने र ७२ घण्टाभित्रको नेगेटिभ पीसीआर रिपोर्ट देखाउनुपर्ने छ । भारतमा अहिलेसम्म ७३ जनामा ओमिक्रोन पुष्टि भइसकेको छ । यस्तै, मुम्बईमा बुधबार मात्र २८९ मा कोरोनाको संक्रमण पुष्टि भएको थियो ।