काठमाडौं– तमिलनाडुको नीलगिरी जिल्लाको कुन्नुरमा आज बुधवार भारतीय सेनाको हेलिकप्टर दुर्घटनामा परेको छ । दुर्घटनाग्रस्त हेलिकप्टरमा भारतीय सेना प्रमुख (सीडीएस) बिपिन रावत आफ्ना कर्मचारी र परिवारका सदस्यसहित सवार रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन्। हेलिकप्टरमा सेनाका केही उच्च अधिकारी पनि रहेका थिए। हेलिकप्टरमा १४ जना सवार रहेको एएनआईले जनाएको छ।
हेलिकप्टरमा सवार सबै एक कार्यक्रममा सहभागी हुन गइरहेका थिए । दुर्घटनाग्रस्त हेलिकप्टरबाट तीन जनालाई बचाइएको र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।
दुर्घटनाग्रस्त भएकाे सेनाकाे याे हेलिकप्टर एमआई सिरिजकाे थियाे । यसमा दुई वटा इन्जिन हुन्छ र यसलाई सुरक्षित मानिन्छ ।
रावतलाई गएकाे जनवरी १ मा देशका पहिला सीडीएस नियुक्त गरिएकाे थियाे ।
तमिलनाडुको कोइम्बटूर र सुलुरको बीचमा दुर्घटनाग्रस्त भएको जनाइएको छ । खोजी र उद्धार कार्य सुरु गरिएको स्रोतले जनाएको छ । दुर्घटना के कारणले भयो भन्ने पनि अहिलेसम्म केही खुलेको छैन । थप विवरणहरु प्राप्त नभएको जनाइएको छ ।
उनलाई घाइते अवस्थामा अस्पताल लगिएको भारतीय सञ्चारमाध्यमहरूले खबर दिएका छन् ।
हेलिकप्टरमा जनरल रावतकी पत्नी मधुलिका र सेनाले १४ जना अधिकृतहरू सवार थिए ।अहिलेसम्म चारवटा शव बरामद गरिएको छ । ती शवहरू धेरै जलिसकेका छन् ।
जनरल रावतलाई वेलिङटन मिलिटरी हस्पिटल लगिएको जानकारी आएको छ । उनको स्थितिका बारेमा आधिकारिक जानकारी छैन ।
प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहलाई घटनाको जानकारी दिइएको छ । सिंहले संसदमा यसबारेमा जानकारी दिने भएका छन् ।
रावत सन् २०१६ देखि २०१९ सम्म सेनाप्रमुख थिए । सन् २०२० मा उनलाई चीफ अफ डिफेन्स स्टाफ बनाइएको थियो ।