काठमाडौँ : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का एक अधिकारीले संसारमा यतिबेला लगाइँदै गरेको कोरोनाको भ्याक्सिन कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनसँग लड्न सक्षम भएको बताएको छ । डब्ल्यूएचओको बयान त्यतिबेला आएको हो जब दक्षिण अफ्रिकाको एउटा प्रयोगशालामा परीक्षणपश्चात् ओमिक्रोनमाथि फाइजर खोपको आंशिक असर मात्रै देखिएको रिपोर्ट सार्वजनिक भएको छ ।
तर डब्ल्यूएचओका डाक्टर माइक रयानले ओमिक्रोन भेरियन्टमाथि भ्याक्सिनको असर अन्य भेरियन्टको तुलनामा कम हुनेछ भनेर कुनै संकेत नभएको बताएका छन् । डाक्टर रयानले समाचार एजेन्सी एएफपीलाई भने, ‘हामीसँग धेरै नै प्रभावकारी खोप छन् जुन गम्भीर रोग र अस्पतालमा भर्ना हुनुको मामिलामा हालसम्म सबै भेरियन्टविरुद्ध प्रभावकारी प्रमाणित भएको छ । ओमिक्रोनमाथि यसको असर कम छ भनेर सोच्नुको कारण कुनै पनि छैन ।’
उनका अनुसार सुरुवाती आँकडाबाट थाहा हुन्छ कि ओमिक्रोनले डेल्टा र अन्य भेरियन्टको तुलनामा कम व्यक्तिलाई संक्रमित गरेको छ । उनका अनुसार यसले कम गम्भीर हुने दिशामा इशारा गर्छ । दक्षिण अफ्रिकी अनुसन्धानको हिस्सामा रहेका भाइरोलोजिस्ट प्राध्यापक एलेक्स सिंगलका अनुसार ओमिक्रोनको भ्याक्सिन एन्टीबडीबाट बच्ने क्षमता ‘अधुरो’ छ । उनले भनिन्, ‘१२ जनाको रगत परीक्षणको आधारमा गरिएको परिणाममा ओमिक्रोनको खतरा मेरो अपेक्षाभन्दा राम्रो थियो ।’
यो पनि
विश्वका विभिन्न देशमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण विस्तारै बढ्दै गइरहेको देखिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भाइरस अहिले संसारका विभिन्न देशहरुमा फैलिएको छ । वर्ल्डोमिटर्सको तथ्यांक हेर्दा अहिले धेरैजसो देशमा कोरोना संक्रमितको संख्या बढेको देखिन्छ ।
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख ९१ हजार ७ सय ७९ कोरोना संक्रमित थपिएका छन् । यसअघि मंगलबार विश्वभर ४ लाख ४६ हजार कोरोना संक्रमित थपिएका थिए । यससँगै विश्वभर कोरोना संक्रमितको संख्या २६ करोड ७३ लाख ६४ हजार ४ सय ६० पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ७ हजार ६ सय ७ कोरोना संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ लाख ८५ हजार ९ सय ८३ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा ४ लाख ७३ हजार ३ सय ७१ कोरोना संक्रमित निको भएका छन् । यससँगै हालसम्म विश्वभर २४ करोड ७ लाख ४५ हजार ९ सय ८५ कोरोना संक्रमित निको भइसकेका छन् ।
त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ८ लाख १२ हजार १ सय ३६ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ५ करोड २ लाख ६५ हजार ६ सय ५० पुगेको छ । यस्तै अमेरिकामा ३ करोड ९७ लाख ४० हजार ९ सय ६५ कोरोना संक्रमित निको भइसकेका छन् ।