Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बेलायत प्रवेश गर्न खोज्ने शरणार्थीको डुँगा दुर्घटना हुदाँ २७ जनाको मृत्यु

बेलायत प्रवेश गर्न खोज्ने शरणार्थीको डुँगा दुर्घटना हुदाँ २७ जनाको मृत्यु

काठमाडौं : बेलायत जाने प्रयास गरिरहेका कम्तिमा पनि २७ आप्रवासीको इंग्लिश च्यानलमा डुँगा डुब्दा मृत्यु भएको छ। यो दुर्घटना फ्रान्सको केले नजिक भएको थियो। शरण खोज्दै बेलायततर्फ गइरहेका २७ शरणार्थीको समुद्रमा डुङ्गा दुर्घटनामा परी मृत्यु भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार फ्रान्स र बेलायत छुट्याउने समुद्री क्षेत्रमा उनीहरु चढेको डुङ्गा पल्टेको हो। फ्रान्सले यसअघि ३१ जनाको मृत्यु भएको बताएको थियो तर पछि यो तथ्यांक सच्याइएको हो।

दुर्घटनासँगै फ्रान्स र बेलायतको उद्धार टोली उक्त क्षेत्रमा खटाइएको छ। अलजाजिराका अनुसार फ्रान्सले यो डुङ्गा दुर्घटनामा सम्बन्ध रहेको हुन सक्ने आशंकामा चारजनालाई पक्राउ गरेको छ। दुर्घटनामा परेकामधये दुईजनाको गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको तर उनीहरुको पहिचान भने खुल्न नसकेको फ्रान्सले बताएको छ।

इन्टरनेशनल अर्गनाइजेशन फर माइग्रेशनले सन् २०१४ मा डेटा संकलन सुरु गरिएपछि उक्न क्षेत्रमा भएको यो सबैभन्दा ठूलो दुर्घटना हो। बेलायती पत्रिका टाइम्सका अनुसार दुर्घटनामा मृत्यु हुनेमध्ये एकजना पहिला बेलायती सेनाको लागि काम गर्ने अफगान नागरिक थिए। लामो समयदेखि बेलायतको सहयोग पर्खिँदा पनि सहयोग नपाएपछि उनले जोखिमपूर्ण यात्रा गर्ने निर्णय गरेका थिए।

फ्रान्सका प्रधानमन्त्री जिन कास्टेक्सले यसलाई दुःखद घटना भएको बताएका छन्। पछिल्लो समय जोखिम मोलैरै भए पनि सानो डुङ्गाको सहयोगमा समुद्र पार गर्न प्रयास गर्नेको समूह बढ्दो छ।

फ्रान्सका गृहन्त्री जेराल्ड डेगमनाले मृत्यु हुनेमा पाँच महिला र एक बालिका पनि रहेको बताएका छन्। जेराल्ड डेगमनाले दुई जनालाई बचाउन सफल भएको र एक जना अहिलेपनि हराइरहेको बताएको बीबीसीले उल्लेख गरेको छ।

उनले चार जनालाई बेल्जियमको सीमा नजिकबाट पक्राउ गरिएको जनाएका छन्। बुधबार दिउँसो एक माछा मार्ने डुँगाले फ्रान्सको तटमा कयौं मानिसको शव देखेपछि अधिकारीहरुलाई सूचित गरेको थियो। फ्रान्स र बेलायतका अधिकारी इंग्लिश च्यानलमा हवाई र समुद्री बाटोको माध्यमबाट उद्धार अभियान चलाइरहेका छन्।

अधिकारीहरुले मानव तस्करहरु गैर जिम्मेवार हुँदा यस्ता घटनाहरु बढ्दै गएको बताउँछन्। तर, मानव अधिकारवादीहरुले भने युरोपेली मुलुकको शरणार्थीलाई मुलुकमा आश्रय दिने नीतिमा गरिएको कडाइको कारण उनीहरुले धेरै जोखिम लिन थालेको बताउँछन्।