काठमाडौँ : अमेरिकाको विस्कनसिनमा क्रिसमस परेडमा एक व्यक्तिले गाडी चलाउँदो केही व्यक्तिको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।
स्थानीय समय अनुसार आइतबार बेलुका विस्कनसिनको वाकिशामा भएको घटनामा कम्तीमा २३ जना घाइते भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यम सिएनएनले जनाएको छ ।
सामाजिक सञ्जालमा पोस्ट गरिएको फुटेजमा एउटा रातो रंगको स्पोर्टस् कार देखिएको छ । जुन कार विस्कन्सिनको भौकेशा शहरमा लागेको क्रिसमस परेडमा घुसेको देखिन्छ ।
त्यहाँका प्रहरी प्रमुख थम्पसनले घाइते हुनेमा केही बालबालिका समेत रहेको जनाएका छन् । उनले घटनामा केही व्यक्ति मारिएका भएपनि परिवारका सदस्यलाई नभनेसम्म सञ्चारमाध्यमलाई जानकारी नदिइने बताए ।
यो घटनामा सामेल रहेका एक व्यक्तिको पहिचान भएको प्रहरीले जनाएको छ । तर उनको बारेमा थप विवरण दिइएको छैन ।
प्रहरीले घटनामा केहीको मृत्यु भएको बताए पनि संख्या उल्लेख गरेको छैन । क्रिसमस परेडमा निजी कार चलाउँदा घाइते हुनेमा १२ जना बालबालिका र ११ जना वयश्क रहेको प्रहरीले जनाएको छ ।
उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। भिडमा गाडी चलाउने व्यक्तिलाई नियन्त्रणमा लिइएको र अनुसन्धान जारी रहेको प्रहरीलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ ।