काठमाडौं । विश्वभरका अनुसन्धानकर्ताहरुले कोरोना भाइरसको संक्रमणविरुद्धका १३५ खोपहरु विकास गरिरहेका छन् । क्लिनिक पुग्नुअघि खोप विकासका लागि वर्षौंको अनुसन्धान र परीक्षण आवश्यक हुन्छ ।
तर, कोरोना महामारीले विश्वव्यापी संकट उत्पन्न गराएपछि वैज्ञानिकहरुले सुरक्षित र प्रभावकारी खोप आगामी वर्षसम्म उत्पादन गर्ने किसिमले अघि बढिरहेका छन् । डिसेम्बरमा चीनको वुहानमा कोरोना संक्रमण देखिएपछि जनवरीबाट खोपको विकासको चरण सुरु भएको थियो ।
कोरोनाविरुद्धको खोपको पहिलो मानव परीक्षण मार्चको सुरुमा गरिएको थियो । तर, अहिलेसम्म कोरोनाविरुद्धको कुनै खोप प्रमाणित भने भइसकेको छैन । परीक्षणका क्रममा रहेका केही खोपहरु असफल भए भने अन्य केहीले अहिलेसम्म कुनै नतिजा हासिल गर्न सकेका छैनन् । तर, केहीले हाम्रो रोग प्रतिरक्षा प्रणालीलाई उत्प्रेरित गरी भाइरसविरुद्ध प्रभावकारी एन्टिबडीहरू उत्पादन गर्न सफल भएका छन् ।
हालसम्म विकास गरिएका १३५ खोपमध्ये १२५ खोप मानव परीक्षणको चरणमा अझै प्रवेश गरेका छैनन् । ८ वटा खोपको सुरक्षा र डोज परीक्षण चरणमा छन् । त्यसैगरी अन्य ८ वटा खोप बृहत् सुरक्षा परीक्षण चरणमा छन् ।
दुईवटा खोपहरु बृहत्स्तरको प्रभावकारिता परीक्षणको चरणमा छन् ।