Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अर्थमन्त्री स्वर्णिम वाग्ले: राष्ट्र बैंक ऐन संशोधनमा खुला छलफल गर्न सरकार तयार

अर्थमन्त्री स्वर्णिम वाग्ले: राष्ट्र बैंक ऐन संशोधनमा खुला छलफल गर्न सरकार तयार

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले नेपालमा क्रिप्टोकरेन्सीको प्रयोग र प्रभावबारे राष्ट्र बैंकले गम्भीर अध्ययन गरिरहेको बताएका छन्।

नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथिको दफावार छलफलका क्रममा गभर्नर पौडेलले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को तथ्यांकले नेपालमा क्रिप्टोकरेन्सी होल्डिङ कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब ५ प्रतिशत बराबर रहेको संकेत गरेपछि त्यसबारे विस्तृत अध्ययन अघि बढाइएको जानकारी दिए।

उनका अनुसार नेपालमा क्रिप्टोकरेन्सी कारोबारलाई कानुनी मान्यता नभए पनि यसको प्रयोग, वित्तीय प्रणाली र राजस्वमा पर्न सक्ने प्रभावबारे नेपाल प्रहरीसँग समन्वय गरेर अनुसन्धान भइरहेको छ। आईएमएफले उक्त तथ्यांक कसरी तयार पारेको भन्ने विषयमा पनि जानकारी लिने काम भइरहेको उनले बताए।

बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि खुला र विधिसम्मत छलफलमार्फत आवश्यक निष्कर्षमा पुग्न सरकार तयार रहेको बताए। उनले सञ्चालक समितिको सदस्य संख्या, डेपुटी गभर्नरको संख्या तथा नियुक्ति प्रक्रियालगायत विषयमा समितिले छलफलमार्फत निर्णय गर्नुपर्ने धारणा राखे।