काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले नेपालमा जलन उपचार सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीको क्षमता विकास, उपचार मापदण्ड निर्माण र उपचार प्रणाली सुदृढीकरणमा जोड दिनुभएको छ।
मन्त्री मेहतासँग नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टर कीर्तिपुरका विशेषज्ञ चिकित्सक तथा जलन अभियान्तासँग भएको छलफलमा जलन उपचारको वर्तमान अवस्था, चुनौती र सुधारका प्राथमिकताबारे छलफल भएको हो।
छलफलमा दुर्घटनापछि जलन भएका बिरामीले प्रारम्भिक चरणमै सही उपचार पाउनुपर्ने आवश्यकता औंल्याउँदै स्वास्थ्यकर्मीलाई प्राथमिक उपचारसम्बन्धी विशेष तालिम दिने विषयमा जोड दिइएको छ। स्थानीय स्वास्थ्य संस्था, एम्बुलेन्स सेवा, जिल्ला अस्पतालदेखि प्रदेश र संघीय अस्पतालसम्म कार्यरत स्वास्थ्यकर्मीलाई जलन व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गर्ने तयारीबारे पनि छलफल भएको मन्त्रालयले जनाएको छ।
जलन उपचारलाई देशभर एकरूप र गुणस्तरीय बनाउन Standard Treatment Protocol (STP) तयार गरी सबै तहका स्वास्थ्य संस्थामा लागू गर्ने योजना अघि बढाइएको छ। साथै जटिल अवस्थाका बिरामीको समयमै रेफरल, उपचार पहुँच विस्तार र विशेषज्ञ सेवाको प्रभावकारिता बढाउने विषयलाई प्राथमिकतामा राखिएको छ।
मन्त्री मेहताले जलन उपचारलाई स्वास्थ्य सेवाको महत्वपूर्ण क्षेत्रका रूपमा विकास गरिने बताउँदै विशेषज्ञ संस्था र अभियान्तासँगको सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
छलफलमा जलन रोकथामसम्बन्धी जनचेतना, उपचार सेवाको गुणस्तर सुधार, स्वास्थ्यकर्मीको क्षमता विकास र नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टर कीर्तिपुरको प्राविधिक अनुभवलाई राष्ट्रिय स्तरमा उपयोग गर्ने विषयमा समेत छलफल भएको थियो।