Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बालेन शाहको प्रतिबद्धता: नेपाली जुत्ता–चप्पल उद्योगलाई नीति, तीन तहकै सरकारबाट बजार र ब्रान्डिङमा सहयोग गरिने

बालेन शाहको प्रतिबद्धता: नेपाली जुत्ता–चप्पल उद्योगलाई नीति, तीन तहकै सरकारबाट बजार र ब्रान्डिङमा सहयोग गरिने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशी जुत्ता–चप्पल उद्योगको विकास, आयात प्रतिस्थापन र रोजगारी सिर्जनाका लागि सरकारले आवश्यक नीतिगत तथा संस्थागत सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपाल (एफएमएएन) का पदाधिकारी तथा सदस्यसँग भएको छलफलमा प्रधानमन्त्री शाहले नेपाली उत्पादनको प्रवर्द्धन र बजार विस्तारमा सरकार सकारात्मक रहेको बताए।

उहाँले तीनै तहका सरकारको समन्वयमा जुत्ता निर्माणसम्बन्धी सीपमूलक तालिम सञ्चालन गर्ने, नेपाली जुत्ता–चप्पलको ब्रान्डिङ तथा मार्केटिङमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने र उद्योगको आवश्यकताअनुसार कच्चा पदार्थ आयात व्यवस्थापनलाई प्रभावकारी बनाउने बताए।

छलफलका क्रममा उद्योगीहरूले भारतलगायत विभिन्न नाकाबाट हुने अवैध चोरी पैठारी नियन्त्रण गर्न, गुणस्तरहीन तथा सस्तो आयात रोक्न, विदेशी तथा स्वदेशी ब्रान्डलाई करको दायरामा ल्याउन र आयातित जुत्ता–चप्पलमा अनिवार्य गुणस्तर परीक्षणको व्यवस्था गर्न माग गरेका थिए।

उद्योगीहरूले सरकारबाट आवश्यक नीति, बजार संरक्षण र उद्योगमैत्री वातावरण पाए स्वदेशी फुटवेयर उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न सकिने बताएका थिए।

छलफलमा फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालका अध्यक्ष सुरज बन्जाडे, निवर्तमान अध्यक्ष रुद्र न्यौपाने, महासचिव निर्मल भट्टराई, सल्लाहकार कालिदास गौतम तथा प्रतिनिधिसभा सदस्य विदुषी राणालगायतको सहभागिता रहेको थियो।