Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

२ हजार ४६ हराएका बालबालिका भेटिए, १६९ को उद्धार

२ हजार ४६ हराएका बालबालिका भेटिए, १६९ को उद्धार

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीको पदबहालीपछि हराएका तथा जोखिममा रहेका बालबालिकाको खोजतलास र उद्धार कार्य प्रभावकारी बन्दै गएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयअन्तर्गतको बालबालिका खोजतलास समन्वय केन्द्र (१०४) का अनुसार २०८२ चैत १३ देखि २०८३ असार १० गतेसम्म २ हजार ४४० जना हराएका बालबालिकाको विवरण दर्ता भएको थियो। तीमध्ये २ हजार ४६ जना बालबालिका सकुशल फेला परेका छन्, जुन कुल दर्ता घटनाको करिब ८४ प्रतिशत हो। बाँकी ३९४ बालबालिकाको खोजी कार्य नेपाल प्रहरी तथा सम्बन्धित निकायसँगको समन्वयमा जारी रहेको छ।

सो अवधिमा बेवारिसे अवस्थामा फेला परेका १०३ जना र सडकमा आश्रित ६६ जना गरी १६९ जना बालबालिकाको उद्धार गरिएको मन्त्रालयले जनाएको छ। उद्धार गरिएकामध्ये ८१ जनालाई परिवारसँग पुनर्मिलन गराइएको छ भने ८८ जना हाल सुरक्षित संस्थागत संरक्षणमा रहेका छन्।

मन्त्रालयका अनुसार नेपाल प्रहरी, स्थानीय तह, राष्ट्रिय बाल अधिकार परिषद् तथा अन्य सरोकारवाला निकायसँगको सहकार्यमा जोखिममा परेका बालबालिकाको खोजी, उद्धार, संरक्षण र पुनर्स्थापनालाई प्राथमिकताका साथ अघि बढाइएको छ।

बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राख्दै संरक्षण प्रणालीलाई थप सुदृढ बनाउने र उनीहरूलाई सुरक्षित तथा पारिवारिक वातावरणमा पुनर्स्थापना गर्ने कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइने मन्त्रालयले जनाएको छ।