काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र नेपालका लागि अष्ट्रेलियन राजदूत साइमन अर्न्स्टबीच द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक सहकार्यका विषयमा छलफल भएको छ।
सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा राजदूत अर्न्स्टले मन्त्री यादवलाई कार्यकाल सफलताको शुभकामना दिँदै नेपालसँग सहकार्यलाई थप विस्तार गर्न अष्ट्रेलिया इच्छुक रहेको बताए।
भेटका क्रममा नेपाल–अष्ट्रेलिया व्यापार सम्बन्ध, आयात–निर्यातको अवस्था तथा व्यापारलाई थप सन्तुलित र प्रभावकारी बनाउने उपायबारे छलफल भएको मन्त्रालयले जनाएको छ।
दुवै पक्षबीच अष्ट्रेलियामा रहेका नेपाली समुदायमार्फत व्यापार, पर्यटन र लगानी प्रवर्द्धन गर्ने सम्भावनाबारे पनि सकारात्मक संवाद भएको थियो। मन्त्री यादवले नेपालको विकास यात्रामा अष्ट्रेलियाले गर्दै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा दुई देशबीचको आर्थिक सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरिन्।