काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले नागरिकको जीवनको सुरक्षाभन्दा ठूलो कुनै नियम, सत्ता वा पद हुन नसक्ने बताएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले कानुन सबैका लागि समान रूपमा लागू हुनुपर्ने भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाए। उनले विगतमा ‘सिंहदरबारभन्दा मान्छेको जीवन ठूलो’ भन्नेहरू अहिले ‘मान्छेको जीवनभन्दा नियम ठूलो’ भन्ने अवस्थामा पुगेको आरोप लगाए।
शाहीले नागरिकलाई निराशा र पीडाको अवस्थामा पुर्याएर आत्महत्यासम्म पुग्ने परिस्थिति सिर्जना गर्नु पनि गम्भीर अपराध भएको बताए। उनले रोजीरोटी खोसिनु वा बाँच्ने आधार समाप्त हुनु पनि हिंसाकै एक रूप भएको धारणा राखे।
उनले सडकमा जथाभावी पार्किङ गर्न पाउनुपर्ने माग आफूहरूको नरहेको स्पष्ट पार्दै ट्राफिक नियम कार्यान्वयनमा सबैलाई समान व्यवहार गर्न सरकारसँग माग गरे। सिटबेल्ट नलगाई सवारी चलाउने उच्च पदस्थ व्यक्तिहरूमाथि कारबाही किन नहुने भन्दै उनले प्रश्न उठाए।
सांसद शाहीले जलनबाट पीडित गणेश नेपालीलाई अस्पताल पुर्याउने क्रममा अपनाइएको प्रक्रियामाथि समेत आपत्ति जनाए। गम्भीर अवस्थामा रहेका बिरामीलाई एम्बुलेन्समार्फत उपचारमा लैजानुपर्नेमा अन्य तरिकाले लगिएको भन्दै उनले घटनाको छानबिन गर्न माग गरे।
उनले गणेश नेपालीलाई समयमै उचित उपचार उपलब्ध भयो वा भएन, विदेशमा उपचारको सम्भावना थियो वा थिएन तथा मृत्यु भइसकेपछि विमानस्थलमा भएको गतिविधिबारे समेत राज्यले स्पष्ट जवाफ दिनुपर्ने बताए।