काठमाडौँ । अब देशभरका रक्तसञ्चार केन्द्रमा उपलब्ध रगतको विवरण नागरिक एपबाटै रियल–टाइममा हेर्न सकिने भएको छ। नागरिक एपमा ‘रक्त सूचना’ (Blood Information) पोर्टल थपिएपछि प्रयोगकर्ताले आवश्यक रक्त समूह कुन केन्द्रमा कति युनिट उपलब्ध छ भन्ने जानकारी सहजै प्राप्त गर्न सक्नेछन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार यस सुविधाले विभिन्न रक्तसञ्चार केन्द्रमा रहेको सबै रक्त समूहको मौज्दात एकै स्थानबाट हेर्न मिल्ने व्यवस्था गरेको छ। स्वास्थ्य सेवा थप प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यले सेवा सुरु गरिएको हो। यसबाट आकस्मिक अवस्थामा रगत खोज्नुपर्ने बिरामी तथा आफन्तलाई छिटो जानकारी मिल्नुका साथै रक्त व्यवस्थापन र रक्तसञ्चार सेवाको समन्वयमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।