काठमाडौँ । कर्णाली प्रदेशमा बारम्बार हुने विद्युत अवरोधलाई न्यूनीकरण गर्न सरकारले मर्मत कार्यका लागि आवश्यक यान्त्रिक क्रेन पठाउने निर्णय गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार लाइन ट्रिपिङका कारण विद्युत आपूर्तिमा समस्या दोहोरिने र मर्मतका लागि आवश्यक उपकरणको अभाव देखिएपछि यो निर्णय गरिएको हो। ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले स्थलगत अनुगमनका क्रममा उक्त समस्या जानकारी पाएपछि आवश्यक समन्वय गरेका थिए।
आवश्यक प्रक्रिया र सर्भिसिङ पूरा भएपछि नेपाल विद्युत प्राधिकरणको खरिपाटीस्थित ट्रान्सफर्मर वर्कशपमा रहेको यान्त्रिक क्रेन कर्णाली पठाइने मन्त्रालयले जनाएको छ।
यसबाट अन्य प्रदेशबाट उपकरण ल्याउनुपर्ने बाध्यता घट्ने, विद्युत मर्मत कार्य छिटो हुने र सेवा प्रवाह थप प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।