काठमाडौँ । अविरल वर्षाले सिन्धुपाल्चोकको कोदारीस्थित अरनिको राजमार्गको इको क्षेत्रमा सडक भासिएपछि नेपाल–चीन जोड्ने तातोपानी नाका सोमबारदेखि पुनः अवरुद्ध भएको छ।
लगातारको वर्षापछि करिब दुई मिटर सडक भासिँदा सवारी आवागमन पूर्ण रूपमा रोकिएको इलाका प्रहरी कार्यालय कोदारीले जनाएको छ। वर्षा र माथिबाट बगिरहेको लेदोका कारण सडक मर्मतमा कठिनाइ भइरहेको छ।
सडक खुलाउन गिट्टी र माटो हाल्ने प्रयास भइरहे पनि प्रतिकूल मौसमले काम प्रभावित भएको छ। सडक बन्द भएपछि नेपाल–चीनबीच आवतजावत गर्ने मालवाहक कन्टेनरहरू दुवैतर्फ रोकिएका छन्।