Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

इरानले बन्द गर्ने घोषणा गरेको होर्मुज जलमार्ग खुला रहेको ट्रम्पको दाबी

इरानले बन्द गर्ने घोषणा गरेको होर्मुज जलमार्ग खुला रहेको ट्रम्पको दाबी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले होर्मुज जलमार्ग बन्द गर्ने घोषणा गरे पनि उक्त जलमार्ग व्यावसायिक जहाजहरूको आवागमनका लागि खुला रहेको दाबी गरेका छन् ।

एनबीसी न्यूजको ‘मिट द प्रेस’  कार्यक्रममा टेलिफोनमार्फत दिएको अन्तर्वार्तामा ट्रम्पले इरानले पछिल्लो सैन्य तनावपछि अर्को सूचना नभएसम्म होर्मुज जलमार्ग बन्द गर्ने घोषणा गरेको उल्लेख गरे । तर, उक्त जलमार्गमा जहाज आवागमन जारी रहेको उनले बताए ।

“यो खुला छ । हामीले गएराति उनीहरूमाथि निकै ठूलो बमबारी गर्‍यौँ,” ट्रम्पले भने, “उनीहरू अत्यन्त खतरनाक र विकृत मानसिकताका मानिसहरू हुन् ।” 

ट्रम्पले अमेरिका र इरानबीच केही समयअघि भएको वार्ताको पनि उल्लेख गरे । उनका अनुसार इरान सुरुमा एउटा उत्तम सम्झौतामा सहमत भएको थियो, जसमा आणविक कार्यक्रमसहित विभिन्न विषयमा सहमति बनेको दाबी गरे ।

तर, ट्रम्पका अनुसार सम्झौताबाट बाहिरिएको केही समयमै इरानले एउटा जहाजमाथि ड्रोन हमला गर्‍यो । “उनीहरूले सबै कुरा त्यागे र बैठकबाट बाहिरिए । त्यसको एक घण्टाभित्रै एउटा जहाजमा ड्रोन प्रहार गरे,” ट्रम्पले भने, “मैले भनेँ, तिमीहरू मानसिक रूपमा विकृत मानिसहरू हौ ।” 

यद्यपि, अन्तर्वार्तामा ट्रम्पले इरानसँगको तनावबारे थप टिप्पणी गर्न अस्वीकार गरे । उनले आफ्नो प्राथमिकता हालै निधन भएका रिपब्लिकन सिनेटर लिन्डसे ग्राहमप्रति श्रद्धाञ्जली व्यक्त गर्नु रहेको बताए ।

“म आज केवल एकजना व्यक्तिका बारेमा कुरा गर्न चाहन्छु, लिन्डसे ग्राहम,” ट्रम्पले भने ।