Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

स्वास्थ्य मन्त्री निशा मेहताको पहलमा देशव्यापी मानसिक स्वास्थ्य अभियान विस्तार हुँदै

स्वास्थ्य मन्त्री निशा मेहताको पहलमा देशव्यापी मानसिक स्वास्थ्य अभियान विस्तार हुँदै

काठमाडौँ । मानसिक स्वास्थ्य सेवालाई नागरिकको सहज पहुँचमा पुर्‍याउने उद्देश्यसहित स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशव्यापी अभियान सञ्चालन गर्ने भएको छ। मन्त्री निशा मेहताको निर्देशनपछि संघ, प्रदेश र स्थानीय तहका संयन्त्र परिचालन गर्दै समुदायमा आधारित मानसिक स्वास्थ्य सेवा, उपचार र जनचेतना कार्यक्रम विस्तार गरिने निर्णय भएको हो।

मन्त्रालयका सचिव विकास देवकोटाको अध्यक्षतामा बसेको अनलाइन बैठकले विद्यालयमा मानसिक स्वास्थ्य शिक्षा, समुदायस्तरमा सचेतना, उपचाररत बिरामीको सहजीकरण तथा वैदेशिक रोजगारीमा रहेका नेपाली र उनीहरूका परिवारलाई परामर्श सेवा उपलब्ध गराउने निर्णय गरेको छ।

मानसिक स्वास्थ्य हटलाइन ११६६, हेलो स्वास्थ्य १११५ र नजिकका स्वास्थ्य संस्थाको जानकारी व्यापक रूपमा प्रचार गरिनेछ। साथै मोबाइल रिङब्याक टोन, सामाजिक सञ्जाल, पोस्टर, भिडियो सन्देश, टिकटक रिल र अनलाइन काउन्सेलिङमार्फत जनचेतना अभियान सञ्चालन गरिने मन्त्रालयले जनाएको छ।

बैठकले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, विद्यालय स्वास्थ्य नर्स, शिक्षक, युवा क्लब, सामी परियोजना तथा मानसिक स्वास्थ्य क्षेत्रमा कार्यरत संस्थाका जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ। अस्पतालमा मानसिक स्वास्थ्य सेवा सुदृढ गर्दै निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्ने, आवश्यकताअनुसार साइकोसोसियल हेल्थ डेस्क स्थापना गर्ने र उपचारबाट बाहिरिएका बिरामीलाई पुनः उपचारको दायरामा ल्याउने तयारीसमेत अघि बढाइनेछ।

मन्त्रालयले चालु आर्थिक वर्षभित्र प्रारम्भिक कार्यक्रम सुरु गरी आगामी आर्थिक वर्षको साउनदेखि अभियानलाई देशभर अझ प्रभावकारी रूपमा विस्तार गर्ने जनाएको छ।