काठमाडौँ । राजावादी अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएर भक्तपुरस्थित निवास पुर्याएको छ।
झापाबाट काठमाडौं फर्किएका प्रसाईँले विमानस्थलबाटै सुकुम्बासी समस्या, आत्मदाहका घटना, गरिब तथा पीडित नागरिकको अवस्था लगायत समसामयिक विषयमा सम्बोधन गर्ने तयारी गरेका थिए।
तर विमानस्थल पुगेलगत्तै काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराई नेतृत्वको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो। त्यसपछि प्रहरीले आफ्नै सवारीसाधनमार्फत उनलाई निवास पुर्याएर छाडेको जनाएको छ।
प्रसाईँ पक्राउ परेको भन्दै केही सञ्चारमाध्यममा समाचार आएपछि प्रहरीले त्यसको खण्डन गरेको छ। एसपी भट्टराईले उनलाई पक्राउ नभई विमानस्थलको सुरक्षा व्यवस्थापनका लागि नियन्त्रणमा लिएर घर पुर्याइएको स्पष्ट पारे।
प्रहरीका अनुसार विमानस्थलजस्तो निषेधित क्षेत्रमा कुनै पनि विरोध कार्यक्रम गर्न नपाइने भएकाले सम्भावित सुरक्षा चुनौतीलाई ध्यान दिँदै प्रसाईँलाई त्यहाँबाट हटाइएको हो।