Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

गणेश नेपालीको निधनपछि राइडर युनियनको सरकारलाई चेतावनी, श्रमिक अधिकार र क्षतिपूर्तिको माग

गणेश नेपालीको निधनपछि राइडर युनियनको सरकारलाई चेतावनी, श्रमिक अधिकार र क्षतिपूर्तिको माग

काठमाडौँ । राइड सेयरिङ श्रमिक गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि विभिन्न राइडर युनियनहरूले गहिरो दुःख व्यक्त गर्दै सरकारसँग श्रमिक अधिकार सुनिश्चित गर्न र मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन्।

राइडर्स युनियन नेपाल, नेपाल प्लाटफर्म वर्कर्स युनियनलगायतका संगठनहरूले संयुक्त विज्ञप्ति जारी गर्दै गणेश नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। युनियनहरूले उनको मृत्युले गिग तथा प्लाटफर्ममा आधारित यातायात र सेवा क्षेत्रमा कार्यरत श्रमिकहरूलाई स्तब्ध बनाएको उल्लेख गर्दै श्रमिक अधिकारका मागलाई थप सशक्त रूपमा अघि बढाउने बताएका छन्।

युनियनहरूले सरकार र सम्बन्धित कम्पनीसँग मृतकका परिवारलाई उचित क्षतिपूर्ति, आश्रित परिवारको भरणपोषण तथा सामाजिक सुरक्षा सुनिश्चित गर्न माग गरेका छन्।

यसैबीच, गिग तथा प्लाटफर्ममा आधारित श्रमिकहरूले सरकारलाई ज्ञापनपत्र बुझाउँदै श्रम ऐनअनुसार संगठित हुने र सामूहिक सौदाबाजीको अधिकार सुनिश्चित गर्न, प्लाटफर्म श्रमिकसम्बन्धी कानुन निर्माण गर्न तथा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को प्लाटफर्म अर्थतन्त्रसम्बन्धी मापदण्ड अनुमोदन गर्न आग्रह गरेका छन्।

उनीहरूले श्रमिक, रोजगारदाता र सरकार सम्मिलित त्रिपक्षीय संवाद समिति गठन, राइड सेयरिङ विवाद समाधानका लागि श्रम अदालतमा निःशुल्क र द्रुत सेवा तथा इन्धन र जीवनयापनको लागतका आधारमा राइड सेयरिङको भाडादर पुनरावलोकन गर्न पनि माग गरेका छन्।