काठमाडौँ । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त अरब इमिरेट्स (यूएई) का विदेश व्यापार मन्त्री डा. थानी बिन अहमद अल जेयोउदीले शिष्टाचार भेटवार्ता गरेका छन्। भेटमा नेपाल–यूएई सम्बन्धलाई थप मजबुत बनाउने, व्यापार, लगानी, पर्यटन र श्रम क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ।
सभामुख अर्यालले वर्तमान संसद गठनपछि यूएईबाट भएको यो उच्चस्तरीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे। उनले सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल र यूएईबीच मित्रता, विश्वास र सहकार्यमा आधारित सम्बन्ध कायम रहेको उल्लेख गर्दै आगामी सन् २०२७ मा मनाइने कूटनीतिक सम्बन्धको स्वर्ण जयन्तीलाई उपलब्धिमूलक बनाउने प्रतिबद्धता जनाए।
भेटमा सभामुख अर्यालले नेपालमा कार्यरत करिब सात लाख नेपाली श्रमिकले यूएईको विकासमा योगदान पुर्याइरहेको र उनीहरूले पठाउने रेमिट्यान्सले नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेलेको बताए। साथै, व्यापार असन्तुलन घटाउने, लगानी प्रवर्द्धन गर्ने र पर्यटन सहकार्य बढाउने विषयमा जोड दिए।
उनले यूएईसँग संसदीय मैत्री समूह गठन भइसकेको जानकारी दिँदै दुवै देशका संसदबीच अनुभव र असल अभ्यास आदानप्रदानमा यसले सहयोग पुर्याउने विश्वास व्यक्त गरे।
भेटमा पोखरा–दुबई सिधा उडान सञ्चालनको तयारी, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यूएईका हवाई कम्पनीलाई प्रोत्साहन गर्ने विषय तथा शिक्षा, प्रविधि, खेलकुद र सांस्कृतिक क्षेत्रमा सहकार्य विस्तारबारे पनि छलफल भएको थियो।
यूएईका विदेश व्यापार मन्त्री डा. थानी बिन अहमद अल जेयोउदीले नेपालमा लगानी र प्रविधि विस्तारका लागि यूएई सकारात्मक रहेको बताए। उनले यूएईको विकासमा नेपाली श्रमिकहरूको योगदानको प्रशंसा गर्दै दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे।
भेटका क्रममा मन्त्री अल जेयोउदीसँग १८ सदस्यीय प्रतिनिधिमण्डलको समेत सहभागिता रहेको थियो।