काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जमा आतङ्क मच्चाउँदै आएको ‘ध्रुवे’ जङ्गली हात्तीलाई नियन्त्रणमा लिएर दाह्रा काट्ने तयारी गरिए पनि हालसम्म डार्ट गर्न सकिएको छैन। निकुञ्जले हात्तीको खोजी र नियन्त्रणका लागि २५ जना अनुभवी जनशक्ति परिचालन गरेको छ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जाका अनुसार ध्रुवे हात्तीले हालसम्म २५ जनाको ज्यान लिइसकेको छ। गत शनिबार भरतपुर महानगरपालिका–२३ मा २१ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेलाई आक्रमण गरी मारेपछि निकुञ्जले हात्तीलाई डार्ट गर्ने निर्णय गरेको हो।
निकुञ्जका अनुसार ध्रुवे हात्ती हालसम्म फेला नपरेकाले नियन्त्रण प्रक्रिया अघि बढ्न सकेको छैन। यसअघि विसं २०७४ मा पनि ध्रुवेले नेपाली सेनाका एक सेनानी (मेजर)लाई आक्रमण गरी हत्या गरेको थियो। नौ वर्षपछि सोही हात्तीले पुनः दुई आमाछोराको ज्यान लिएपछि नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरिएको हो।