काठमाडौँ । बारम्बार विद्युत् जाने समस्या समाधान गर्न देशभरका प्रदेश प्रमुख र दुई डिभिजन कार्यालयका वितरण नेतृत्वसँग बैठक बसेको छ। बैठकले समस्या मौसमी नभई पुरानो वितरण पूर्वाधारका कारण भएको निष्कर्ष निकाल्दै सुधारका लागि चार महत्त्वपूर्ण निर्णय गरेको छ।
बैठकले प्रत्येक प्रदेशमा वितरण पूर्वाधारको अवस्था मूल्याङ्कन गरी पुनर्संरचना योजना तयार गर्ने, आगामी बजेटलाई तथ्याङ्क र राष्ट्रिय रणनीतिअनुसार वितरण सुधारमा केन्द्रित गर्ने, प्रदेशस्तरीय प्राविधिक तथा व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्ने र हरेक महिना नियमित समीक्षा बैठक सञ्चालन गर्ने निर्णय गरेको हो।
बैठकमा पुरानो सञ्जाल, बढ्दो विद्युत् माग, फिडर ओभरलोड, ट्रिपिङ र लो–भोल्टेजजस्ता समस्या तत्काल समाधान गर्न पूर्वाधार र जनशक्ति दुवैको स्तरोन्नतिमा जोड दिइएको छ। साथै, हटलाइन ११५०/११५१ मा आउने गुनासो तत्काल सम्बोधन गर्दै दीर्घकालीन रूपमा गुनासो आउनै नपर्ने विद्युत् वितरण प्रणाली निर्माण गर्ने लक्ष्य राखिएको छ।