Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

जेठ १७ को संसद् घटनामा संसदीय मर्यादा उल्लघंन भएको ठहर, सभामुखलाई विशेषाधिकार प्रयोग गर्न सुझाव

जेठ १७ को संसद् घटनामा संसदीय मर्यादा उल्लघंन भएको ठहर, सभामुखलाई विशेषाधिकार प्रयोग गर्न सुझाव

काठमाडौँ । प्रतिनिधिसभाको जेठ १७ गते भएको घटनाबारे जाँचबुझ गर्न गठित समितिले सभामुखलाई संसदीय मर्यादा कायम गर्न प्राप्त विशेषाधिकार तत्काल प्रयोग गर्न सुझाव दिएको छ।

समितिले अमर्यादित र उत्तेजक अभिव्यक्ति तथा व्यवहारमा प्रतिनिधिसभा नियमावली प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने भन्दै त्यस्ता गतिविधिमा संलग्न सदस्यलाई अभिलेखबाट शब्द हटाउनेदेखि बैठकबाट निष्कासनसम्मका व्यवस्था कडाइका साथ लागू गर्न सुझाव दिएको हो।

समितिले घटनाको अध्ययनका क्रममा श्रव्यदृश्य सामग्री, प्रत्यक्षदर्शीको बयान, प्रहरी मुचुल्का र अन्य दस्तावेज विश्लेषण गरेको जनाएको छ। प्रतिवेदनले उक्त दिन संसद्मा संसदीय मर्यादा उल्लङ्घन, संयमताको अभाव र व्यवस्थापकीय कमजोरी देखिएको निष्कर्ष निकालेको छ।

समितिले संसद्मा आचारसंहिता पालन, सदस्यका लागि अभिमुखीकरण, दलीय नेतृत्व र प्रमुख सचेतकको भूमिका प्रभावकारी बनाउने, सुरक्षा तथा प्रविधि व्यवस्थापन सुधार गर्ने र आचरण अनुगमन समितिलाई सक्रिय बनाउन पनि सुझाव दिएको छ।

जेठ १७ गते प्रधानमन्त्रीसँगको प्रश्नोत्तरपछि सुरु भएको विवाद नाराबाजी, वेल घेराउ र धकेलाधकेलसम्म पुगेको थियो। घटनाका क्रममा संसद् भवनका केही सामग्रीमा क्षति पुगेको र मर्यादापालक तथा सांसदबीच तनावको अवस्था सिर्जना भएको समितिले उल्लेख गरेको छ।

प्रतिनिधिसभा नियमावलीअनुसार अभद्र व्यवहार, सभाको कार्यमा अवरोध वा भौतिक क्षति पुर्‍याउने सदस्यलाई चेतावनी, बैठकबाट निष्कासन वा बढीमा १५ दिनसम्म निलम्बन गर्न सकिने व्यवस्था रहेको छ।

86fb320a-ba6c-45b3-8e46-6dc23c8a72fe.jpg