Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

मेची राजमार्ग अवरुद्ध, चार जिल्लाको आवागमन ठप्प

मेची राजमार्ग अवरुद्ध, चार जिल्लाको आवागमन ठप्प

काठमाडौँ । इलामको माइखोला (राजदुवाली) क्षेत्रमा सडक भासिएपछि मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा इलाम, पाँचथर, ताप्लेजुङ र झापाबीचको आवागमन ठप्प भएको छ। निरन्तर वर्षा र कमजोर भू–बनोटका कारण सडक बगेपछि बिहीबार बिहानदेखि सवारी सञ्चालन बन्द भएको हो।

राजमार्ग बन्द हुँदा मालवाहक सवारी, एम्बुलेन्स र सयौँ यात्रु बीच बाटोमै रोकिएका छन्। बिरामीलाई जोखिमपूर्ण बाटो हुँदै स्ट्रेचरमा लैजानुपर्ने अवस्था छ भने दूध, तरकारीलगायत कृषि उपज बजारसम्म पुग्न नसक्दा कृषकले आर्थिक क्षति व्यहोर्नुपरेको छ।

सडक डिभिजन कार्यालयले अवरोध हटाउने प्रयास गरिरहेको भए पनि वर्षा नरोकिएकाले काम प्रभावित भएको छ। सडकको ठूलो भाग खोलातर्फ बगेकाले स्थायी संरचना निर्माणपछि मात्र सडक पूर्ण रूपमा सञ्चालनमा आउने जनाइएको छ। वैकल्पिक मार्ग पनि प्रभावकारी बन्न नसक्दा यात्रुहरूले थप सास्ती खेपिरहेका छन्।