Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

इरानका सिरिक, केश्म र बन्दर अब्बासमा शक्तिशाली अमेरिकी बमबारी

इरानका सिरिक, केश्म र बन्दर अब्बासमा शक्तिशाली अमेरिकी बमबारी

काठमाडौं । होर्मुज जलमार्ग हुँदै गइरहेका कतार र साउदी अरेबियाका तेल ट्यांकरसहित तीनवटा व्यापारिक जहाजमाथि आक्रमण भएपछि अमेरिकाले इरानविरुद्ध शक्तिशाली सैन्य हमला सुरु गरेको छ । 

इरानी सरकारी सञ्चारमाध्यमहरूका अनुसार इरानका रणनीतिक बन्दरगाह क्षेत्र बन्दर अब्बास, सिरिक र केश्म टापुमा ठूला विष्फोट भएका अलजजिराले जनाएको छ ।
 
यो सैन्य कारबाहीसँगै अमेरिकाले गत जुन १७ मा वासिंटन र तेहरानबीच भएको अन्तरिम शान्ति समझदारीअन्तर्गत इरानलाई तेल बिक्री गर्न दिइएको ‘विशेष छुट’ पनि खारेज गरिदिएको छ ।

कुन–कुन क्षेत्रमा कस्तो क्षति ?
स्थानीय अधिकारीहरू र इरानी सरकारी टेलिभिजनका अनुसार अमेरिकाले इरानका व्यापारिक तथा सैन्य पूर्वाधारलाई निशाना बनाएको छ ।

केश्म टापुमा कम्तीमा ६ वटा शक्तिशाली विष्फोटका आवाज सुनिएको छ । त्यहाँ रहेको एक ठूलो घाटलाई मुख्य रूपमा निशाना बनाइएको जनाइएको छ ।

सिरिकमा होर्मुज जलमार्गको निगरानीका दृष्टिले अत्यन्तै सामरिक महत्व बोकेको सिरिक सहरमा सातदेखि नौवटा विष्फोट भएको बताइएको छ । यहाँका व्यावसायिक तथा माछा मार्ने घाटहरूमा आक्रमण भएको रिपोर्ट सार्वजनिक भएको छ ।

इरानकै सबैभन्दा ठूलो बन्दरगाह सहर बन्दर अब्बासमा १० वटा ठूला विष्फोटका आवाज सुनिएको छ । प्रारम्भिक विवरणअनुसार यहाँका दूरसञ्चार टावर तथा अन्य तटीय संरचनाहरूमा क्षति पुगेको छ ।

इरानद्वारा आरोपको खण्डन, सम्झौता उल्लंघन भएको दाबी
यसैबीच, इरानका उपविदेशमन्त्रीले अमेरिकी सैन्य कारबाहीलाई जुन १७ मा भएको समझदारीको ठाडो उल्लंघन भएको बताएका छन् । व्यापारिक जहाजहरूमाथि इरानले आक्रमण गरेको भन्ने अमेरिकी दाबीलाई तेहरानले शंकास्पद र आधारहीन आरोप भन्दै पूर्ण रूपमा अस्वीकार गरेको छ ।

इरानी विदेश मन्त्रालयका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा होर्मुज जलमार्गमा इरानको अधिकार र नियन्त्रण उक्त समझदारीकै आधारमा निर्धारण भएको उल्लेख गरिएको छ । 

विज्ञप्तिअनुसार यस जलमार्गबाट हुने कुनै पनि जहाजको आवतजावत सुरक्षित बनाउन इरानी पक्षसँग समन्वय अनिवार्य छ । इरानले समन्वयबिना गरिने जहाज आवतजावतले सुरक्षा जोखिम निम्त्याउन सक्ने तर्क गरेको छ ।