Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

२४ घण्टापछि पनि कर्णालीमा खसेको फोर्स गाडी र यात्रुको संख्या अझै अज्ञात

२४ घण्टापछि पनि कर्णालीमा खसेको फोर्स गाडी र यात्रुको संख्या अझै अज्ञात

काठमाडौँ । दैलेखको कर्णाली नदीमा खसेको यात्रुबाहक फोर्स गाडी दुर्घटना भएको २४ घण्टा बितिसक्दा पनि गाडी फेला परेको छैन भने त्यसमा कति यात्रु सवार थिए भन्ने यकिन हुन सकेको छैन। खोजी कार्य जारी रहे पनि नदीमा आएको बाढी, धमिलो पानी र भौगोलिक कठिनाइले उद्धारमा चुनौती थपिएको प्रहरीले जनाएको छ।

सुर्खेतबाट कालिकोट जाँदै गरेको क.प्र. ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी बिहीबार बिहान दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ स्थित साङ्गेतडामा करिब ४ सय मिटर तल कर्णाली नदीमा खसेको थियो।

प्रहरीका अनुसार प्रारम्भिक अनुमानमा गाडीमा ५–६ जना यात्रु सवार रहेको हुन सक्ने देखिए पनि आधिकारिक विवरण अझै खुल्न सकेको छैन। घटनास्थलमा सशस्त्र प्रहरीका गोताखोरसहित ५० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरी खोजी तथा उद्धार कार्य भइरहेको छ।

हालसम्म गाडीका केही सिट, ४–५ वटा मोबाइल र भीरमा अड्किएको अवस्थामा एक जनाको शव फेला परेको छ। मृतक कालिकोटको पचालझरना गाउँपालिका–९ निवासी ५४ वर्षीय जेखे तिरुवा रहेको प्रहरीले पुष्टि गरेको छ। दुर्घटनाको कारण भने अझै खुलेको छैन।