काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य निर्वाचनको परिणामप्रति असन्तुष्टि जनाउँदै उम्मेदवार पूजा बास्तोलाले सर्वोच्च अदालत जाने घोषणा गरेकी छन्।
बास्तोलाले प्रेस विज्ञप्ति जारी गर्दै गण्डकी प्रदेश भूगोलतर्फको निर्वाचनमा आफूले ९१३ मत प्राप्त गरेको भए पनि अन्तिम परिणाममा आफूलाई निर्वाचित नगरिएको दाबी गरेकी छन्। उनका अनुसार महिला तर्फ शीर्ष दुई र खुला तर्फ शीर्ष पाँचभित्र पर्ने मत पाए पनि आफूलाई बाहिर राखिएको हो।
उनले निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नतिजामा आफूभन्दा कम मत प्राप्त गरेका उम्मेदवारहरू निर्वाचित भएको आरोप लगाउँदै प्रक्रिया, विधि र मापदण्ड विपरीत निर्णय गरिएको बताएकी छन्।
बास्तोलाले निर्वाचन परिणामलाई व्यक्तिगत पदको विषय नभई लोकतान्त्रिक पद्धतिको प्रश्नका रूपमा व्याख्या गर्दै निष्पक्ष प्रक्रिया भएमा जित्नेले सहज रूपमा स्वीकार गर्ने र हार्नेले पनि सम्मानपूर्वक परिणाम स्वीकार गर्न सक्ने उल्लेख गरेकी छन्।
उनले पार्टीको केन्द्रीय निर्वाचन आयोगमा उजुरी दर्ता गरे पनि चित्तबुझ्दो जवाफ नपाएको र विषयलाई दबाउन खोजिएको महसुस भएपछि सर्वोच्च अदालतमा रिट दायर गर्ने निर्णय गरेको बताएकी छन्।
रास्वपाको केन्द्रीय निर्वाचन आयोगले भने यस विषयमा हालसम्म कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।