Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

“सूचना दिँदादिँदै मरे पनि इतिहास बन्छ” : खोज पत्रकार जीवन शर्मा

“सूचना दिँदादिँदै मरे पनि इतिहास बन्छ” : खोज पत्रकार जीवन शर्मा

काठमाडौं । खोज पत्रकारिता अत्यन्त चुनौतीपूर्ण भए पनि आफूले ज्यानको बाजी लगाएर काम गरिरहेको खोज पत्रकार जीवन शर्माले बताएका छन्। उनले जनतालाई सूचना र सत्य समाचार दिनकै लागि जोखिम मोलेर काम गर्दै आएको उल्लेख गर्दै “एकदिन मर्नै छ, सूचना दिँदादिँदै मरे पनि त्यो इतिहास बन्छ” भन्ने धारणा व्यक्त गरेका छन्।

झन्डै १७ वर्षदेखि पत्रकारितामा सक्रिय शर्माले आफूले खोज पत्रकारितामा कसैसँग सम्झौता नगर्ने प्रतिबद्धता दोहोर्याएका छन्। उनी भन्छन्, दृश्यसहितको रिपोर्टिङले मात्र समाजको वास्तविकता उजागर गर्न सकिने भएकाले आफूले खोज पत्रकारितालाई प्राथमिकता दिएको हो।

शर्माका अनुसार खोजी समाचार संकलनका क्रममा धेरै चुनौती आउने गरेका छन्—कहिलेकाहीँ आवश्यक दृश्य खिच्न नपाइने, स्रोतहरूले सूचना लुकाउने र दबाब दिने अवस्थासमेत हुने गरेको छ। यस्ता कठिनाइका बीच पनि उनले भ्रष्टाचार, विकृति र विसंगतिविरुद्ध निरन्तर कलम चलाइरहेको बताएका छन्।

गोरखाको दबुङ–६ मा जन्मिएका शर्मा २०६० सालमा पोखरा एफएमबाट पत्रकारितामा प्रवेश गरेका थिए। त्यसयता उनले विभिन्न एफएम, टेलिभिजन र अनलाइन मिडियामा काम गर्दै आएका छन्।

उनी वैदेशिक रोजगारीमा समस्यामा परेका युवाहरूको उद्धार तथा सामाजिक कार्यमा पनि सक्रिय छन्। साथै, पत्रकारितामा जोखिम मोलेर काम गरेको योगदानका लागि उनले विभिन्न सम्मान तथा पुरस्कार प्राप्त गरेका छन्।

शर्माले देशका धेरै स्थानीय तहमा पुगेर विकास निर्माणदेखि अनियमिततासम्मका विषयमा रिपोर्टिङ गर्दै आएका छन्। कठिन परिस्थिति र दबाबका बाबजुद पनि आफूले सत्य समाचार लेखनको बाटो नछोड्ने उनको अडान छ।